हर्क साम्पाङको प्रश्न-के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो ?


काठमाडौँ । प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन् ।

मङ्गलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो जिकिर गरेका हुन् ।

अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र साहको विगतमा जस्तै आलोचना गर्दै संसद्लाई सम्बोधन गर्न पर्छ कि पर्दैन ? भनी प्रश्न गरे । उनले प्रधानमन्त्री साह जनताको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र असक्षम बन्ने भएको हो रु भनी जिज्ञासा समेत राखे । अध्यक्ष साम्पाङले प्रधानमन्त्री साहले जनताको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने भन्दै सरकारलाई सफल भन्न नमिल्ने तर्क समेत गरे ।

उनले भने ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नु पर्छ कि पर्दैन ? सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतले उत्तर दिनु पर्छ कि पर्दैन ? संसद्मा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु हो भन्ने बुझिन्छ । जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन् यो बेला । जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्र ? जनताको जिउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ?’

अध्यक्ष साम्पाङले जनता सरकारसँग डराउनुपर्ने अवस्थालाई लोकतन्त्र भन्न नमिल्ने भन्दै आपत्ति समेत जनाए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ