सुदूरपश्चिममा तत्काल राजनीतिक नियुक्ति परिपूर्ति गर्न कांग्रेस-एमाले सहमत


धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका पदहरूमा तत्काल नियुक्ति गर्न कांग्रेस(एमाले सहमत भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राजनीतिक नियुक्तिका पदमा तत्काल नियुक्ति गर्ने बारे दुबै दल सहमत भएका हुन् ।

दुबै दलका प्रदेश तहका शीर्ष नेताहरू सहभागि बैठकले भागबण्डाको आधारमा तत्काल पदपूर्तिका लागि सहमत भएका छन् । त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ ।सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने प्रादेशिक अस्पतालका अध्यक्षहरूको कार्यकाल सकिन केहीसमय मात्र बाँकी छ। यस्तै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पनि पदहरू रिक्त हुँदैछन् ।ती सबै पदहरूमा सत्ता गठबन्धनमा सहभागी कांग्रेस एमालेले सहमतिका आधारमा राजनीतिक नियुक्तिका पदहरूमा भागबण्डा गर्नेछ ।

प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रदेश सरकारका काम कारवाही थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको बैठकमा सहभागी एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो ।बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायतका नेताहरू सहभागी थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ