ट्रम्पलाई चुनौती दिन मस्कले ‘अमेरिका पार्टी’ खोल्दै


काठमाडौं । अमेरिकाका अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन्। उनले नयाँ दललाई ‘अमेरिका पार्टी’ नाम दिएका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्।’ उनले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरेका थिए।

मस्कले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ, अब तपाईंले त्यो पाउनुहुनेछ। अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने सन्दर्भमा अमेरिकाका दुवै (रिपब्लिकन र डेमोक्र्याटिक) दल समान छन्।’

मस्कले ४ जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा एक्समा एउटा मत सर्वेक्षण राखेका थिए। त्यसमा उनले सोधेका थिए, ‘के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छरु के हामीले अमेरिकामा नयाँ पार्टी बनाउनुपर्छ रु’ सर्वेक्षणको नतिजामा, ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ प्रतिशतले ‘होइन’ मत दिएका थिए।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिग ब्युटिफुल बिललाई लिएर चर्को बहस भएको थियो। त्यसपछि मस्कले आफूलाई ट्रम्प प्रशासनबाट बिदा भएका थिए। जवाफमा ट्रम्पले भने, ‘जब हामीले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको अनुदान काट्ने बारेमा कुरा गर्‍यौं तब मस्कलाई समस्या हुन थाल्यो। म एलनसँग धेरै निराश छु। मैले उनलाई धेरै मद्दत गरेको छु।’

त्यसपछि मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई कृतघ्न भन्दै धेरै सन्देश लेखेका थिए।

१३ जुलाई, २०२४ मा पेन्सिलभेनियाको बटलरमा एक चुनावी सभामा डोनाल्ड ट्रम्पलाई गोली लागेको थियो। त्यस घटनामा गोलीको छर्रा ट्रम्पको दाहिने कानमा लाग्यो। यसपछि मस्कले एक्समा राष्ट्रपति चुनावमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए। मस्क सम्पूर्ण चुनावी अभियानमा ट्रम्पको लागि पूर्ण रुपमा खटिएका थिए। ट्रम्पलाई राष्ट्रपति बनाउन मस्कले ठूलो धनराशी खर्च पनि गरेका छन्। ट्रम्पले चुनाव जित्ने बित्तिकै अमेरिकी राजनीतिमा मस्कको कद ह्वात्तै बढ्यो।

कतिपयले उनलाई ‘सुपर प्रेसिडेन्ट’ पनि भन्थे। मस्क र विवेक रामास्वामीलाई सरकारी दक्षता विभागको प्रमुख बनाइयो। तर जनवरी २० मा ट्रम्पको शपथ ग्रहणको केही घण्टापछि रामास्वामीले विभाग छोडे। यस विभागको उद्देश्य सरकारी खर्च कटौती गर्नु थियो।

रामास्वामीले राजीनामा दिएपछि मस्क विभागको प्रमुख बने। उनले सरकारी खर्च कटौती गर्ने नाममा ठूलो मात्रामा सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने मात्रै नभएर अमेरिकाले अन्य देशमा पठाउने खर्च पनि बन्द गरे। विशेष गरी कर्मचारी हटाउने कुरालाई लिएर मस्कले अमेरिकाभर विरोधको सामना गर्नुपरेको थियो। तर ट्रम्प सधैं मस्कको समर्थनमा उभिए।

८ मार्चमा ट्रम्प उपस्थित भएको मन्त्रिपरिषद् बैठकमा मस्क र विदेशमन्त्री मार्क रुबियोले कर्मचारी कटौतीको विषयमा बहस गरेको समाचार बाहिर आएको थियो। मस्कले रुबियोलाई कर्मचारी कटौती गर्न असमर्थ भएको आरोप लगाए।

दुवैले त्यो अस्वीकार गरे। जब दुईबिचको बहस तीव्र भयो, ट्रम्पले रुबियोको बचाउ गर्दै भने, ‘उनले राम्रो काम गरिरहेका छन्।’ यो पहिलो पटक थियो जब मस्क र कुनै ठूला नेताबिच विवाद भयो, जहाँ ट्रम्पले उनलाई समर्थन गरेनन्। यद्यपि ट्रम्प र मस्क एकसाथ काम भने गरिरहेका थिए।

ट्रम्प र मस्कले सँगै काम गर्न जारी राखे पनि समय बित्दै जाँदा ट्रम्प सरकारसँग मस्कको सम्बन्ध पनि बिग्रँदै गयो। केही महिना अघि जब मस्कको विरोधमा धेरै देशहरूमा टेस्लाका गाडीहरू जलाइए, ट्रम्पले टेस्ला किनेर मस्कलाई समर्थन गरेका थिए।

तर सबैभन्दा ठूलो विवाद २७ मेमा तब सुरु भयो जब मस्कले ट्रम्प सरकारको बिग ब्युटिफुल बिलको खुलेर विरोध गरे। केही घण्टापछि उनले सरकारी दक्षता विभागबाट राजीनामा पनि दिए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ