दार्चुलाको छाङरु र तिंकर पुग्न भारतको बाटो प्रयोग गर्न नपर्ने !


दार्चुला । दार्चुलाको छाङरु र तिंकर पुग्न पैदल बाटो निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोरेटो बाटोको काम तीव्र गतिमा भइरहेको हो ।

व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्म निर्माणाधीन घोडेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ । सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए ।

छाङरु र तिंकरमा दुई सय परिवारको बसोबास रहेकोमा उनीहरुलाई भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । अब त्यो बाध्यता हट्ने देखेर स्थानीय खुसी छन् ।

महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले काम गरिरहेका छन् । सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भीर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको बताइएको छ । छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि संघीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ