‘पदम विश्वकर्मा : जनयुद्धले जन्माएको वैचारिक नेता’


काठमाडौं । गण्डकी प्रदेशको स्याङ्जा निर्वाचन क्षेत्र नं. २ यसपटक एउटा वैचारिक बहसको केन्द्र बनेको छ। कारण— लामो समयदेखि दलित मुक्ति आन्दोलन, जनयुद्धकालीन राजनीतिक गतिविधि, प्रकाशन र संगठन निर्माणमा सक्रिय पदम विश्वकर्मा प्रत्यक्षतर्फ मैदानमा उत्रिएका छन्।

आन्दोलनको मोर्चादेखि सम्पादकीय डेस्कसम्म, संगठनको बैठकदेखि प्रदेश प्रमुखको सचिवालयसम्मको अनुभव बोकेका विश्वकर्मा यसपटक आफ्नै जन्मभूमिमा जनमतको परीक्षण चाहन्छन्।

गाउँको माटोबाट केन्द्रीय राजनीतिसम्म :
वि.सं. २०३७ असोज ११ गते स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ मा जन्मिएका विश्वकर्मा सामान्य परिवारबाट आएका हुन्। बुवा शालिकराम सुनारको २०६१ सालमा हृदयघातका कारण निधन भयो। आमाको संघर्ष, गाउँको सामाजिक यथार्थ र जातीय विभेदको अनुभूति उनका राजनीतिक सोचका प्रारम्भिक आधार बने।
उनी भन्छन्, “दलित समुदायले भोगेको अपमान र विभेदले नै मलाई संगठित संघर्षको बाटोमा ल्यायो।”

विद्यार्थी आन्दोलनबाट दलित मुक्ति मोर्चासम्म :
२०५२ सालमा तत्कालीन नेकपा माओबादीले संचालन गरेकाे १० बर्षे महान जनयुद्धमा हाेमियर भुमिगत राजनीतिक सुरु गरेका विश्वकर्मा दलित विद्यार्थी संगठनमा सक्रिय हुदै २०५६ सालमा केन्द्रीय सदस्य र २०६० सालपछि संयोजक बने।

त्यसपछि उनको यात्रा नेपाल दलित मुक्ति मोर्चा हुँदै अघि बढ्यो। २०६३ सालमा काठमाडौं जिल्ला सचिव, २०७५ सालमा केन्द्रीय कार्यालय सचिव र त्यसै वर्ष केन्द्रीय सदस्य बने। अहिले उनी सोही संगठनको केन्द्रीय उपाध्यक्ष तथा प्रचार–प्रकाशन विभाग प्रमुख छन्।

कलम र विचारको मोर्चा :
विश्वकर्माको अर्को पहिचान— सम्पादक र वैचारिक लेखक। २०७५ देखि प्रकाशित ‘दलित सन्देश’ मासिकलाई निरन्तरता दिने काममा उनले ५१ भन्दा बढी अंक सम्पादन/प्रकाशन गरे। ‘दलित मुक्ति’ मुखपत्र, ‘महान जनयुद्ध र दलित आन्दोलन’ पुस्तक र ‘शहीद गाथा’ (भाग–१) जस्ता कृतिमा उनको सम्पादकीय भूमिका छ।

जनयुद्धकालमै काठमाडौंबाट प्रकाशित ‘नेपाली मंच’ मासिकमा सह–सम्पादक रहे। हाल नेपाली कम्युनिस्ट पार्टीकाे सम्पर्क समन्वय प्रदेश समितिको प्रचार–प्रकाशन विभाग प्रमुख तथा ‘मेचीकाली आवाज’ चौमासिकका प्रधान सम्पादकका रूपमा कार्यरत छन्।
उनका निकटस्थहरू भन्छन्, “उहाँ संगठनभन्दा पनि विचार निर्माणमा बलियो हुनुहुन्छ।”

केन्द्रीय राजनीति र प्रशासनिक अनुभव : 
२०५६ सालमा तत्कालीन नेकपा माओवादीको संगठित सदस्यता लिएका विश्वकर्मा २०७९ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे केन्द्रीय सदस्य बने। जनयुद्ध र जनआन्दोलनका क्रममा पाँच पटक हिरासत बसेको अनुभव उनीसँग छ।

२०७६ कात्तिकदेखि २०७७ फागुनसम्म मधेश प्रदेशका प्रदेश प्रमुख तिलक परियारकाे प्रमुख स्वकीय सचिवका रूपमा काम गरे। त्यसपछि कर्णाली प्रदेश प्रमुख रहदा पनि जिम्मेवारी सम्हाले।
राजनीतिक आन्दोलनसँगै प्रशासनिक संरचनाभित्र काम गरेको अनुभवले आफूलाई “नीति र व्यवहार दुवै बुझ्ने” बनाएको उनको दाबी छ।

किन प्रत्यक्ष उम्मेदवारी ? 
विश्वकर्मा यसपटक समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचन रोजेका छन्। उनी भन्छन्—
“मैले सधैं संगठनका लागि काम गरेँ। अब आफ्नै भूगोलका जनतासामु उभिएर प्रत्यक्ष जनमत लिन चाहन्छु।”

उनका अनुसार स्याङ्जा–२ मा वर्गीय चेतना, सामाजिक न्याय र समावेशी विकासको बहस अझै अधुरो छ। आफू आर्थिक रूपमा आत्मनिर्भर, सार्वजनिक छविमा विवादरहित र पारदर्शी जीवनशैली बोकेको उम्मेदवार भएको दाबी उनी गर्छन्।

चुनौती र अपेक्षा : 
स्याङ्जा–२ मा परम्परागत शक्ति संरचना बलियो छ। त्यहाँ विश्वकर्माको उम्मेदवारी वैचारिक तथा सामाजिक प्रतिनिधित्वको बहससँग जोडिएको छ।

आन्दोलनबाट उठेका, कलम र संगठन दुवैमा सक्रिय उम्मेदवारलाई मतदाताले अवसर दिन्छन् कि दिदैनन्— त्यो भने मतपेटिकाले तय गर्नेछ।

तर एउटा कुरा स्पष्ट छ— पदम विश्वकर्मा स्याङ्जा–२ मा केवल चुनाव लड्न होइन, आफ्नो राजनीतिक यात्राको अर्को अध्याय लेख्न उत्रिएका छन्।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ