युवा विद्राेह,शान्तिपूर्ण निर्वाचन !


सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले हिजाे (फागुन २१ गते) सम्पन्न गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर उत्साहपूर्ण र समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न हुनु लोकतन्त्रका लागि सकारात्मक संकेत हो। निर्वाचनअघि विभिन्न आशंका व्यक्त गरिएका थिए ।

राजनीतिक अस्थिरता बढ्न सक्छ, दलहरूबीचको अविश्वासले निर्वाचन मिति सारिन सक्छ वा मतदान प्रभावित हुन सक्छ भन्ने डर पनि थियो। तर ती सबै आशंकालाई चिर्दै निर्वाचन सम्पन्न हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो। यसले मुलुकलाई सम्भावित ठूलो राजनीतिक दुर्घटनाबाट जोगाएको छ।

लोकतन्त्रमा चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो राज्य प्रणालीप्रतिको जनविश्वासको परीक्षण पनि हो। यसपटक देशभर मतदाताको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति जनताको विश्वास अझै कायम रहेको सन्देश दिएको छ।
यस निर्वाचनको अर्को महत्वपूर्ण पक्ष राजनीतिक दलहरूको सहभागिता हो।

विभिन्न मतभेद र प्रतिस्पर्धाका बाबजुद दलहरू एकमत भएर निर्वाचन प्रक्रियामा सहभागी हुनु उनीहरू लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध रहेको प्रमाण हो। लोकतन्त्रको आधार नै यही हो । सत्ता प्राप्तिका लागि प्रतिस्पर्धा, तर प्रक्रियाप्रति सम्मान।

यसपटकको निर्वाचनमा युवाहरूको सक्रियता पनि उल्लेखनीय रह्यो। पछिल्ला वर्षहरूमा बेरोजगारी, भ्रष्टाचार र अवसरको अभावका कारण युवाहरूमा बढ्दो असन्तुष्टि देखिँदै आएको छ। यही असन्तुष्टि धेरै ठाउँमा मतदानमार्फत अभिव्यक्त भएको देखिन्छ। यस अर्थमा यो एक प्रकारको शान्तिपूर्ण युवा विद्रोह पनि हो, जहाँ परिवर्तनको चाहना हिंसाबाट होइन, मतपत्रमार्फत व्यक्त भएको छ।

अहिलेको अवस्थामा सबैभन्दा ठूलो उपलब्धि भनेको तोकिएको समयमा निर्वाचन सम्पन्न हुनु नै हो। यसको श्रेय कुनै एक व्यक्ति वा सरकारलाई मात्र दिइनु उचित हुँदैन। यो सफलता राजनीतिक दलहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, सञ्चार माध्यम र आम नागरिकको सामूहिक प्रयासको परिणाम हो। लोकतन्त्रको सार पनि यही सामूहिक जिम्मेवारी र सहकार्यमा निहित हुन्छ।

त्यसैले यस्तो उपलब्धिलाई कसैको व्यक्तिगत सफलता वा नेतृत्वको देवत्वकरणतर्फ मोड्नु भन्दा लोकतान्त्रिक प्रक्रिया र संस्थागत भूमिकालाई सम्मान गर्ने संस्कार विकास गर्नु आवश्यक छ। लोकतन्त्र व्यक्तिभन्दा संस्था बलियो हुँदा मात्र दीर्घकालीन रूपमा टिकाउ हुन्छ।

अन्ततः फागुन २१ को उत्साहपूर्ण र शान्तिपूर्ण मतदानले एउटा स्पष्ट सन्देश दिएको छ । नेपाली समाजमा लोकतन्त्रप्रतिको विश्वास अझै जीवित छ। अब यो विश्वासलाई मजबुत बनाउने जिम्मेवारी राजनीतिक नेतृत्व र राज्यका संस्थाहरूको काँधमा छ। यदि जनताले दिएको सन्देशलाई गम्भीरतापूर्वक बुझ्न सकियो भने यही निर्वाचन नेपालको लोकतान्त्रिक ब्यवस्थालाई अझ परिपक्व बनाउने अवसर बन्न सक्छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ