काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१० को एक सामान्य किसान परिवारमा जन्मिएकी पार्वती विकको संघर्ष केवल एउटा ब्यक्तिकाे सफलताकाे कथा मात्रै होइन।
यो कथा हो विभेद सहँदै हुर्किएकी एक छोरीले त्यही विभेदविरुद्ध लड्दै देशको नीति निर्माण गर्ने थलोसम्म पुग्ने यात्राको।
सानैदेखि उनले समाजको कठोर यथार्थ देखिन्। छुवाछूत, अपमान, अवसरबाट वञ्चित गरिने व्यवहार यी सबै उनका लागि केवल सुन्ने कुरा होइन, दैनिक भोगाइ थिए।
कुनै बेला मौन रहन बाध्य पारिएकी ती अनुभूतिहरूले नै उनको मनमा एउटा बलियो प्रश्न जन्मायो,“किन यस्तो विभेद?” त्यही प्रश्नले उनलाई परिवर्तनको बाटोमा डोर्यायो।
पीडाबाट प्रतिरोधसम्म
किशोरावस्थामै पार्वती विकले अन्यायविरुद्ध बोल्न सुरु गरिन्। समाजमा दलित समुदायमाथि हुने विभेदका घटनामा उनी चुप लागेर बस्न सकिनन्।
विस्तारै उनी अधिकारका आवाजहरूमा मिसिइन्—कहिले सडकमा, कहिले गाउँको चौतारोमा, त कहिले प्रशासनको ढोकासम्म।
तत्कालीन नेकपा माओवादीले उठाएको समानता र सामाजिक न्यायको एजेन्डाले उनलाई अझ दृढ बनायो। त्यसपछि उनले आफ्नो जीवनलाई दलित, महिला र उत्पीडित समुदायको अधिकारका लागि समर्पित गरिन्।
पीडितको आवाज बोक्ने नेतृत्व
जाजरकोट र आसपासका क्षेत्रमा हुने जातीय विभेदका घटनामा पार्वती विक सधैं पीडितको पक्षमा उभिइन्। उनी केवल भाषण गर्ने नेतृ होइनन् ।
पीडितको घरसम्म पुग्ने, न्यायका लागि प्रशासन धाउने, र कानुनी प्रक्रियामा साथ दिने एक सक्रिय अभियन्ता हुन्।
रुकुम पश्चिमको सोती गाउँमा भएको नवराज विकसहित युवाहरूको सामूहिक हत्या प्रकरणपछि देशभर उठेको आक्रोशमा पनि उनी अग्रपंक्तिमा देखिइन्।
त्यो घटनालाई राष्ट्रिय बहसको विषय बनाउन र पीडितलाई न्याय दिलाउन उनले खेलेको भूमिका उल्लेखनीय रह्यो।
सडकबाट संसदसम्म
लामो समय आन्दोलन र सामाजिक न्यायको अभियानमा बिताएकी पार्वती विकलाई नेकपाले समानुपातिकतर्फबाट संघीय संसदमा पठाएको छ।
उनको यो यात्रा व्यक्तिगत उन्नतिको मात्र कथा होइन,यो हजारौं दलित महिलाहरूको सपना, संघर्ष र प्रतिनिधित्वको प्रतीक हो।
अबको परीक्षा: संसदभित्रको आवाज संसदमा पुगेपछि पार्वती विकका सामु चुनौती अझ ठूलो बनेको छ।
अब उनले सडकबाट उठाएको आवाजलाई नीति र कानुनमा रूपान्तरण गर्नुपर्नेछ। जातीय विभेद अन्त्य गर्ने प्रभावकारी कानुन, दलित समुदायको अधिकार संरक्षण र सामाजिक न्याय सुनिश्चित गर्ने नीतिहरू यिनै उनका प्राथमिकता हुन्।
एक प्रतीक, एक आशा
गाउँको सामान्य परिवेशबाट उठेकी एक छोरी आज देशको नीति निर्माण गर्ने ठाउँमा पुगेकी छन्। उनको यात्रा केवल प्रेरणा होइन, एउटा सन्देश पनि हो ।
विभेदले रोके पनि संघर्षले बाटो खोल्छ। अब सबैको नजर संसदतर्फ छ । के पार्वती विकले त्यहाँबाट विभेदविरुद्ध अझ शक्तिशाली आवाज उठाउन सक्लिन्?






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन