सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । उनले विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको पनि स्पष्ट पारे । उनले पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी गरे ।

उनले भने ‘हामीले न्यायालयमा राजनीति गरेका छैनौँ । अहिले सरकारपक्षलाई वरियता मिचेर चौथो वरियतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ । उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरियता मिच्नुभयो भन्ने आरोप छ । यसमा मैले थप टिप्पणी गर्न आवश्यक छैन । संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयो । प्रक्रिया पुरा गर्ने हाम्रो माग थियो । तर सत्तापक्षले निकै हतार गर्नुभयो । हामीले शंकाको लाभ दियौँ ।’

उनले दुई तिहाइ नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरूले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ