काठमाडौं । निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।
विशिष्ट परिस्थिति र सेवाका लागि सवारी पासको व्यवस्था गरिएको छ । शुक्रवारदेखि नै आयोगले यस्ता पासहरूको वितरण प्रक्रिया सुरु गरिसकेको छ । उनकाअनुसार आयोगले सवारी साधनलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ ।
पहिलो श्रेणीमा त्यस्ता सवारी साधनहरू छन्, जसले अनिवार्य रूपमा सवारी पास लिनुपर्ने हुन्छ । यस अन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन् । कार्यविधिको दफा ५ मा उल्लेख भए बमोजिम प्रत्यक्षतर्फका उम्मेदवार र निजका प्रतिनिधिले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गर्नुपर्नेछ ।
यसैगरी, निर्वाचनको पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, कूटनीतिक नियोगका सवारी साधनहरू र सञ्चारकर्मीहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्ने व्यवस्था गरिएको छ । संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रिय सूचना आयोगका प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगले जारी गरेको पासकै आधारमा मात्र आवतजावतको अनुमति दिइने सहायक प्रवक्ता जिसीले जानकारी दिए ।
पास नचाहिने अत्यावश्यक सेवाहरू
केही यस्ता सेवाहरू छन् जसलाई मानवीय र प्राविधिक संवेदनशीलताका कारण सवारी पासको अनिवार्यताबाट मुक्त राखिएको छ । एम्बुलेन्स, शव वाहन, दमकल र अस्पतालका सवारी साधनहरू स्वतः स्फूर्त रूपमा चल्न पाउनेछन् । यस्ता साधनहरूलाई कुनैपनि अवरोध बिना निर्बाध सञ्चालनको वातावरण मिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको प्रवक्ता जिसीको भनाइ छ ।
यसका अतिरिक्त खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी साधन, विद्युत् सेवा, दूरसञ्चार र सूचना सञ्चारसँग सम्बन्धित साधनहरूलाई पनि पासको आवश्यकता पर्नेछैन । डाटा सेन्टरहरू सञ्चालन गर्ने र अन्य प्राविधिक सेवामा खटिएका सवारी साधनहरूलाई पनि अरू बेला जस्तै निर्बाध रूपमा चल्न दिइनेछ । सहायक प्रवक्ता जिसीकाअनुसार यस्ता सेवाहरू समाजको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले निर्वाचनको समयमा पनि यिनलाई रोक्न नहुने आयोगको ठहर छ ।
ज्येष्ठ नागरिक र अशक्तलाई विशेष प्राथमिकता
निर्वाचन आयोगले यस पटकको मतदानमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त मतदाताहरूलाई विशेष प्राथमिकतामा राखेको छ । मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने यस्ता मतदाताहरूका लागि आयोगले सहजीकरणको विशेष व्यवस्था गरेको छ । मतदानका दिन यस्ता व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुर्याउन र फर्काउनका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सुविधा उपलब्ध गराइनेछ ।
आयोगले मतदान केन्द्रहरूलाई पनि अपाङ्गतामैत्री बनाउने प्रयास गरेको सहायक प्रवक्ता जिसीले बताए । अशक्त मतदाताहरूले सुरक्षाकर्मीसँगको समन्वयमा सवारी साधनको प्रयोग गरी मतदान केन्द्रको नजिकसम्म पुग्न सक्नेछन् । यसले गर्दा कोही पनि नागरिक आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने विश्वास आयोगले लिएको छ ।
कार्यविधि र कानुनी प्रावधानको स्पष्टता
सवारी आवागमन सम्बन्धी यो व्यवस्था निर्वाचन आयोगको कार्यविधिको परिच्छेद ३ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ । दफा ३ सम्मका व्यवस्थाहरू निर्वाचन प्रचारप्रसारको समयमा लागू हुने नियमहरू हुन् भने दफा ४, ५ र ६ मा मतदानको दिनको सवारी आवागमन सम्बन्धी कडा प्रावधानहरू राखिएका छन् । मतदानको दिन सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द रहनेछन् ।
सहायक प्रवक्ता जिसीकाअनुसार यो कार्यविधि विगतका अनुभव र सरोकारवालाहरूसँगको व्यापक छलफलपछि तयार पारिएको हो ।
‘हरेक कानुन बन्दाखेरि कि समस्या आउनुपर्छ कि कतैबाट माग हुनुपर्छ । समाजले महसुस नगरेको विषयवस्तुमा सामान्यता कानुन बन्दैन ।’ उनले भने । कार्यविधिमा सबै कुरा परिकल्पना नगरिएको भएपनि व्यवहारिक समस्याहरूलाई सुरक्षाकर्मी र स्थानीय प्रशासनको समन्वयमा समाधान गरिने उनको भनाइ छ ।
आपत्कालीन अवस्था र सुरक्षा समन्वय
यदि मतदानको दिन कसैलाई अचानक अस्पताल जानुपर्ने वा अन्य कुनै गम्भीर आपत्कालीन अवस्था आइपरेमा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सुविधा लिन सकिनेछ । कार्यविधिले परिकल्पना नगरेका तर व्यवहारमा आइपर्ने यस्ता मानवीय समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने आयोगले जनाएको छ ।
फागुन २० गते मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म देशभरका सार्वजनिक सवारी साधनहरू बन्द रहने भएकाले सर्वसाधारणलाई सोहीअनुसार आफ्नो योजना बनाउन समेत आयोगले आग्रह गरेको छ ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग