गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गणेश विश्वकर्माले आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्यायका लागि एकजुट हुन सबैलाई अपिल गरेका छन्।

शुक्रबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद विश्वकर्माले देश आफ्नै भए पनि राज्य आफ्नो नभएको अनुभूति हुँदा गणेश नेपालीजस्ता युवाहरू आत्मदाहजस्तो पीडादायी बाटो रोज्न बाध्य भएको बताएका छन्।
उनले लेखेका छन्, जब देश मेरो हो, राज्य मेरो होइन भन्ने निष्कर्षमा पुगिन्छ, तब गणेश नेपालीहरूले आत्मदाहको बाटो रोज्न पुग्छन्।

वर्तमान सरकार युवाको काँध चढेर सत्तामा पुगे पनि २५ वर्षीय गणेश नेपालीजस्ता युवाले राज्यप्रति अपनत्व महसुस गर्न नसकेको उनको भनाइ छ।

सांसद विश्वकर्माले गणेश नेपाली अत्यन्त निराश र अपमानित भएको अवस्थाले अन्ततः आत्मदाहको प्रयास गर्न पुगेको उल्लेख गर्दै यस घटनाले सरकार असफलताको ओरालो लागिरहेको पुष्टि गर्ने दाबी गरेका छन्।

उनले वर्तमान सरकार पहुँचवाला र धनी वर्गको पक्षमा केन्द्रित भएको आरोप लगाउँदै, युवा नेतृत्वको सरकार भए पनि यो गणेश नेपालीहरूको सरकार होइन भन्ने यो घटनाले पुष्टि गरेको छ, भनेका छन्।

सांसद विश्वकर्माले अन्त्यमा सबैलाई गणेश नेपालीको न्यायका लागि एकजुट भएर आवाज उठाउन आग्रह गरेका छन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ