सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?


काठमाडौं ।  बागमती नदी किनारस्थित थापाथलीको सुकुम्बासी बस्ती खाली गराउने क्रममा सरकारले स्थानान्तरण गरिएका परिवारहरूलाई उपत्यकाका विभिन्न पाँच स्थानमा अस्थायी रूपमा बसोबास गराउने व्यवस्था गरेको छ।

सरकारी निर्णयअनुसार शनिबार र आइतबार ती क्षेत्रबाट सुकुम्बासीहरूलाई स्थानान्तरण गरी नागार्जुन नगरपालिका–इचङ्गु क्षेत्रमा निर्माण गरिएका ४२ वटा आवास युनिटमा राखिनेछ। यस्तै, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवनलाई पनि अस्थायी आवासका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।

भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा समेत स्थानान्तरण गरिएका परिवारहरूलाई राख्ने व्यवस्था मिलाइएको छ। साथै, खरीपाटी र चाँदबाग क्षेत्रमा रहेका सरकारी भवन तथा खाली जग्गामा पनि अस्थायी बसोबासको प्रबन्ध गरिएको जनाइएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका–९ थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराउने काम सुरु भएको छ। सार्वजनिक जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सरकारको निर्देशनपछि स्थानीयहरूलाई अन्यत्र सार्ने काम तीव्र पारिएको हो।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उक्त क्षेत्रमा डोजर प्रयोग गरी टहरा भत्काउने काम जारी छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार थापाथली क्षेत्र खाली गरिसकेपछि आजै काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती पनि खाली गराउने तयारी गरिएको छ।

सरकारले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थित सहरी विकासलाई ध्यानमा राख्दै अनधिकृत बसोबास हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ