कालिकोट। “म फेरि उज्यालो देख्न पाउँछु भन्ने कहिल्यै सोचेकै थिइनँ‘ अहिले सबै कुरा नयाँजस्तो लागिरहेको छ,”
११ वर्षीया प्रियंका विकको स्वरमा आश्चर्य, खुशी र भावुकता मिसिएको छ।
आठ वर्षअघि बाल्यकालमै लागेको चोटका कारण उनले दाहिने आँखाको दृष्टि पूर्ण रूपमा गुमाएकी थिइन्। त्यतिबेलादेखि उनी अन्धकारमै जीवन बिताउन बाध्य भइन्। आर्थिक रूपमा अति विपन्न परिवार, दुर्गम भौगोलिक अवस्था र स्वास्थ्य सेवाको अभावले गर्दा समयमै उपचार सम्भव हुन सकेन।
“साथीहरू खेल्थे, म भने टाढै बसेर सुन्थें‘ कहिलेकाहीँ निकै दुःख लाग्थ्यो,” प्रियंका सम्झिन्छिन्।
उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि आमामाथि थियो। उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा उनी वर्षौंसम्म आशा नै त्यागेर बस्न बाध्य भइन्।
तर, वैशाख १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शिविरले उनको जीवन नै बदलिदियो।
जिल्ला आँखा उपचार केन्द्रमार्फत जुम्लाको चन्दननाथ आँखा अस्पतालमा सञ्चालन गरिएको उक्त शिविरमा सहभागी भएपछि उनको सफल शल्यक्रिया गरियो। शल्यक्रियापछि उनले पुनः संसार देख्न पाएकी छन्।
“डाक्टर सरले ‘अब देख्न थाल्छौ’ भन्नु भएको बेला पत्याउनै सकिनँ‘ अहिले आमाको अनुहार प्रस्ट देख्दा सबैभन्दा खुशी लाग्यो,” उनले हाँस्दै भनिन्।
शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.हरि बिक्रम अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिएको थियो। जटिल अवस्थाका बावजुद सफलतापूर्वक दृष्टि फर्किनु चिकित्सकीय दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।
प्रियंकाको अनुहारमा फर्किएको मुस्कानले शिविरमा खटिएका स्वास्थ्यकर्मी मात्र होइन, त्यहाँ उपस्थित सबैलाई भावुक बनायो।
उक्त शिविर नेपाल नेत्रज्योति सङ्घ कालिकोटको आयोजना तथा रिड्ली आइ फाउन्डेशनको आर्थिक सहयोगमा सम्पन्न भएको हो। तीन दिनसम्म चलेको शिविरमा ५८४ जनाको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो।
हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि धेरै नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन्। आर्थिक अभाव, भौगोलिक विकटता र जानकारीको कमीका कारण धेरै बिरामी वर्षौंसम्म उपचार नपाई पीडामा बस्न बाध्य छन्।
यस्ता निःशुल्क शिविरले गाउँमै सेवा पुर्याउँदा प्रियंका जस्ता धेरै नागरिकको जीवनमा नयाँ उज्यालो ल्याइरहेको छ।
“म ठूलो भएर डाक्टर बन्न चाहन्छु, अरूलाई पनि देख्न मद्दत गर्न,” प्रियंकाले भविष्यको सपना सुनाइन्।
नेपाल नेत्रज्योति सङ्घले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने नारासहित देशभर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। सन् २०२५ को अन्त्यसम्ममा सङ्घले पाँच करोडभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ भने ५६ लाखभन्दा बढीको आँखाको शल्यक्रिया सम्पन्न गरिसकेको जनाएको छ।
प्रियंकाको आँखामा फर्किएको उज्यालो केवल व्यक्तिगत खुशी होइन, दुर्गम नेपालमा स्वास्थ्य सेवाको पहुँच विस्तारको एउटा प्रेरणादायी कथा बनेको छ।






बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
सरकारका गलत कामको विरोधमा उत्रिन हर्क साम्पाङको निर्देशन
धरानमा सुकुमबासीको प्रदर्शनमा दलहरूको समर्थन
बरु बाढीबाट बच्न सकियो तर सरकारबाट बच्न सकिएन !
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक
बगर खेतीले फेरिएको मुक्त कमैयाको जीवन
आठ वर्षपछि प्रियंकाको आँखामा फर्कियो उज्यालो