काठमाडौं । भारतले नेपाली अर्थोडक्स चियाको आयातमा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग गम्भीर संकटमा परेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि आफ्ना आबद्ध ५३ उद्योग बन्द गर्ने घोषणा गरेको छ ।
एसोसिएसनका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बताए ।
उनका अनुसार किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया उत्पादन गरिए पनि बजारमा बिक्री हुन सकेको छैन । भण्डारणका लागि ठाउँसमेत अभाव भएपछि उद्योग बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीमा ल्याइएको चियाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता पनि छ ।
उद्योगी गोपाल कट्टेलले भारतले विभिन्न प्राविधिक अवरोध सिर्जना गरेर नेपाली चियाको बजार पहुँच कठिन बनाएको बताए । उनले निर्यात समस्या समाधानका लागि नेपाल सरकारले तत्काल प्रभावकारी कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । समयमै पहल नभए नेपाली चियाले अर्बौं रुपैयाँको बजार गुमाउन सक्ने चेतावनी उनले दिए ।
उद्योग बन्दको प्रत्यक्ष असर किसानमाथि पर्ने देखिएको छ । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान आबद्ध छन् । ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चियाखेतीबाट वार्षिक करिब दुई करोड किलो हरियोपत्ती उत्पादन हुँदै आएको छ ।
किसान राजन भट्टराईले उद्योग बन्द भए आम्दानीको मुख्य स्रोत नै बन्द हुने भन्दै चिन्ता व्यक्त गरे । उद्योग सञ्चालन नहुँदा हरियोपत्ती बिक्री हुन नसक्ने र किसानको जीविकोपार्जन संकटमा पर्ने उनको भनाइ छ ।
सूर्योदय नगरपालिकाले पनि भारतीय अवरोध हटाउन उच्चस्तरीय कूटनीतिक पहलको माग गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार कोलकातामा पुगेका नेपाली चियाका खेपमाथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर प्रत्येक बोराबाट नमूना सङ्कलन गरी परीक्षण थालेको छ । आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना सङ्कलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआएका कारण बिक्री–वितरण पूर्ण रूपमा रोकिएको छ ।
बरालले झन्झटिलो परीक्षण प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने जोखिम बढेको बताए । उनले समस्या समाधानका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट हरेक वर्ष ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जाने गर्छ । वार्षिक सवा चार अर्ब रुपैयाँभन्दा बढीको अर्थोडक्स चिया निर्यात हुने नेपालमा इलाम, पाँचथर र धनकुटा प्रमुख उत्पादन क्षेत्र हुन् ।
भारतीय बजारमा निर्भर नेपाली चिया उद्योगका लागि पछिल्लो कडाइले उत्पादन, निर्यात र किसानको आम्दानी सबै क्षेत्रमा गम्भीर चुनौती खडा गरेको उद्योगीहरूको भनाइ छ ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम