बरु बाढीबाट बच्न सकियो तर सरकारबाट बच्न सकिएन !


काठमाडौं। “बरु बाढीबाट बच्न सकियो तर सरकारबाट बच्न सकिएन” भन्ने नारासहित सुकुमबासी बस्तीमा डोजर चलाइएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

जेनजी सेन्टरका अभियान्ताहरूको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले विभिन्न सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘खोइ मानवता डोजरले पुर्‍यो’, ‘सुकुमवासी जनता नेपालमा पर्छन् कि पर्दैनन् ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले सुकुमबासीमाथि भइरहेको विस्थापनलाई अमानवीय भन्दै तत्काल वैकल्पिक व्यवस्था बिना घर–टहरा भत्काउने कार्य रोक्न माग गरेका छन्।

शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा महानगरपालिकाले डोजर चलाइरहेको छ। यस क्रममा बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा समेत डोजर पुगेको छ।

यसअघि शुक्रबार बल्खु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीमा घर–टहरा भत्काइएको थियो।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत दोस्रो चरणमा संरचना हटाउने कार्य अघि बढाएको जनाएको छ। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपासका संरचना हटाइएको थियो।

यता, प्रभावित स्थानीयहरू भने उचित पुनर्वास र व्यवस्थापन बिना गरिएको हटाउने अभियानले आफूहरू थप संकटमा परेको गुनासो गर्छन्। उनीहरूका अनुसार बाढी, जोखिम र गरिबीबाट जोगिन बसेको बस्ती अहिले राज्यकै कदमबाट विस्थापनको मारमा परेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ