जनताको पक्षमा काम गर्दा सरकार नै परिवर्तन गरियो : अध्यक्ष दाहाल


काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अघि बढाएको ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् ।

अभियानअन्तर्गत बिहीबार सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमा अध्यक्ष प्रचण्डले राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसविरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको जिकिर गरे ।

जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको उनले बताए । आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै परिवर्तन गरिएको प्रचण्डको भनाइ छ । अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेको उनले आरोप लगाए ।

आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको दाबी गर्दै प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ