

न्यूयोर्क । मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी बलात्कारमा संलग्न भएको अभियोगमा फरार १९ बर्षका नेपाली विद्यार्थी सुजन तामाङलाई न्युयोर्क सिटी प्रहरीले हिराशतमा लिएको छ । उनले न्युयोर्क प्रहरी समक्ष आत्मसमर्पण गरेको र उनलाई मिनेसोटा सुपुदर्गी गर्ने तयारी भइरहेको सेन्ट क्लाउड प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ । उनीविरुद्ध देशब्यापी वारेन्ट जारी गरिएको थियो ।
अर्का अभियुक्त २० बर्षका दिपक फयाललाई प्रहरीले पक्राउ गरिसकेको छ । फयाललाई क्यालिफोर्नियामा पक्राउ गरिएको भोलिपल्ट तामाङले न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । गत बिहिबार क्यालिफोर्नियामा फ्रिमोन्ट प्रहरी विभागको स्ट्रीट क्राइम्स युनिटले फयाललाई पक्राउ गरिसकेको छ भने मिनेसोटा सुपुदर्गी गर्ने तयारी भएको छ । त्यसै क्रममा फयाललाई बिहिबार विहान अदालतमा पेश गरिदैछ । अदालतको रेकर्ड अनुशार उनलाई ईस्ट काउन्टी हल अफ जस्टिसमा बुधबार विहान ९ बजे पेश गरिदैछ ।
फ्रिमोन्ट जेलका अनुशार फयाललाई गत बिहिबार बेलुका ५ बजेर २० मिनेटमा पक्राउ गरिएको हो । बेलुका ८ बजेर ३५ मिनेटमा जेलका लागि बुक गरिएको थियो । फयाललाई मिनेसोटा पठाउनु अगाडि सान्तारिता जेलमा राखिएको छ । जेल रेकर्ड अनुशार फयालले मिनेसोटाको घटनापछि कलेज ट्रान्सफर गरेको देखिएको छ । उनी पछिल्लो समय सान फ्रान्सिस्को बे युनिभर्सिटीमा अध्ययनरत रहेको जनाइएको छ ।
फयाललाई कुनै घटना विना नै हिरासतमा लिइएको थियो। सेन्ट क्लाउड प्रहरीले फयाललाई मिनेसोटाको स्टेर्न्स काउन्टीमा सुपुर्दगी गर्नका लागि हाल क्यालिफोर्नियामा राखिएको जनाएको हो । ५ फिट ९ इन्च उचाई र १४५ पाउण्ड तौल रहेका फयाललाई अन्य एसियनको रुपमा सुचित गरिएको छ । फयाल गतबर्षको जुनमा २० बर्ष पुगेका थिए ।
गत नोभेम्बर १ मा राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्यु साउथमा भएको बलात्कारको घटनामा उनीहरु संलग्न भएको अभियोग लगाइएको छ । फयालविरुद्ध पहिलो र तेस्रो डिग्री आपराधिक यौन दुर्व्यवहार, साथै पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको आरोप लगाइएको छ। तामाङविरुद्ध भने पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको दुईवटा आरोप र चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको एक आरोप लगाइएको छ। उनीहरुविरुद्ध देशव्यापी पक्राउ वारेन्ट पनि जारी गरिएको थियो ।
उनीहरुले सेन्ट क्लाउड स्टेट युनिभर्सिटीकी एक महिला विद्यार्थीलाई बलपूर्वक उनको छात्रावास कोठामा लगी बलात्कार गरेको अभियोग लगाइएको छ । उजुरीअनुसार पीडितले उक्त आक्रमणबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । सार्वजनिक सुरक्षाका अधिकारीहरूले फयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेका थिए।
बलात्कार घटनाको केही घण्टापछि फयालले पीडितलाई इन्स्टाग्राममार्फत सन्देश पठाएर उनको अवस्थाबारे सोधेको उजुरीमा उल्लेख छ । पीडितको चिकित्सा परीक्षणका क्रममा संकलित डीएनए नमूना फयाल र तामाङ दुवैसँग मिलेको उजुरीमा उल्लेख छ।
मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीले उनीहरु दुबैजना नेपाली विद्यार्थी रहेको र फल सेमेस्टरका लागि भर्ना भएको तर स्प्रींङ सेमेस्टरका लागि भने भर्ना नभएको खसोखासलाई जानकारी दिएको छ । घटनाको बखत उनीहरु सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा नै अध्ययनरत थिए । उनीहरु दुबैजना अगस्तदेखि डिसेम्बरसम्म उक्त युनिर्सिटीमा अध्ययन गरिरहेका थिए । तर घटनापछि फयालले मिनेसोटा छाडेर क्यालिफोर्निया गई सान फ्रान्सिस्को बे युनिभर्सिटीमा भर्ना भएको देखिएको छ ।
