धनुषा : मुक्त हरवा–चरवा समुदायलाई आफ्नो अधिकारबारे सचेत बनाउँदै न्यायमा पहुँच विस्तार गर्ने उद्देश्यले राष्ट्रिय दलित नेटवर्क, नेपालको न्याय केन्द्र कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५, सिमरापट्टी टोलमा आजदेखि कानुनी साक्षरता क्लिनिक सञ्चालनमा आएको छ।
कार्यक्रमको उद्घाटन गर्दै शहीदनगर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सुनीता सिंहले संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी उपयोगका लागि कानुनको ज्ञान अपरिहार्य रहेको बताइन्। अन्याय, जातीय विभेद, श्रम शोषण तथा लैङ्गिक हिंसाका पीडितलाई सहज, निष्पक्ष र पहुँचयोग्य न्याय उपलब्ध गराउन न्यायिक समिति प्रतिबद्ध रहेको उनको भनाइ थियो।
राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय उपाध्यक्ष श्याम सुनारले मुक्त हरवा–चरवा समुदायको अधिकार, पुनःस्थापना र न्यायमा पहुँच सुनिश्चित गर्न स्थानीय सरकारले कानुनी साक्षरता, निःशुल्क कानुनी सहायता, सामुदायिक सशक्तीकरण तथा अधिकार पैरवीका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। कानुनी साक्षरता क्लिनिकले समुदायलाई आफ्ना अधिकार प्रयोग गर्न सक्षम बनाउने विश्वास उनले व्यक्त गरे।
राष्ट्रिय दलित नेटवर्क, नेपालका हरवा–चरवा एक्टिभिस्ट राम दयाल माँझीका अनुसार शहीदनगर नगरपालिकाका सबै ९ वटै वडामा प्रशिक्षित पैरालिगल र कानुनी अधिकृतमार्फत स्थायी तथा मोबाइल कानुनी सहायता क्लिनिक सञ्चालन गरिनेछ।
क्लिनिकमार्फत नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्धका कानुनी व्यवस्थाबारे जानकारी, व्यक्तिगत कानुनी परामर्श, उजुरी दर्ता र न्यायिक सेवामा पहुँचका लागि आवश्यक सहजीकरण गरिने उनले जानकारी दिए।
कार्यक्रममा शहीदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झा, राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय कोषाध्यक्ष जंगबहादुर सुनार तथा कार्यकारी निर्देशक हुकुम सार्कीले कानुनी साक्षरताले समुदायलाई अधिकारप्रति सचेत र सशक्त बनाउने धारणा राखे।
शहीदनगर नगरपालिका–५ का वडा अध्यक्ष सुरेश कापरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका कानुनी अधिकृत सञ्जु पाण्डेले सञ्चालन गरेका थिए भने शहीदनगर नगरपालिका स्तरीय हरवा–चरवा पैरालिगल मञ्चकी अध्यक्ष मञ्जु महराले स्वागत मन्तव्य व्यक्त गरे।
कानुनी साक्षरता अभियानले मुक्त हरवा–चरवा समुदायको अधिकार संरक्षण, न्यायमा पहुँच र सम्मानपूर्ण जीवन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग