काठमाडौं । आउदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा आफ्नो परम्परागत प्रभाव जोगाउन नेपाली कांग्रेस सक्रिय भएको छ ।
वि.सं २०४८ साल यता निरन्तर जित निकाल्दै आएको यस क्षेत्रमा यसपटक पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नहुँदा कांग्रेसका लागि चुनौती थपिएको देखिन्छ ।
वि.सं २०७९ सालसम्म सात पटक यही क्षेत्रबाट निर्वाचित हुँदै प्रधानमन्त्री र पार्टी सभापतिसमेत बनेका देउवा चुनावी मैदानमा नउत्रिएपछि प्रतिस्पर्धी दलहरूले पनि आफ्नो पक्षमा मत परिणाम पार्न अभियान तीव्र पारेका छन् ।
कांग्रेसले भने युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाउँदै विजयी यात्रा निरन्तर राख्ने रणनीति अपनाएको छ ।
महर नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सभापतिसमेत हुन् । उनले मतदाताको विश्वास जित्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् । जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि भएको आक्रमण, त्यसपछिको राजनीतिक परिस्थिति र देउवा उम्मेदवार नहुनुले कांग्रेसलाई गृहजिल्लामै दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले देउवा स्वास्थ्यका कारण प्रचारमा सक्रिय हुन नसक्ने चर्चा निराधार भएको बताए । “उहाँ प्रचारप्रसारमा नआउने भन्ने हल्ला मात्रै हो, पार्टीका कार्यक्रममा उहाँ सहभागी हुनुहुन्छ,” उनले भने ।
यता नेकपा (एमाले) बाट चक्र स्नेही पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । विद्यार्थी जीवनदेखि एमाले राजनीतिमा सक्रिय स्नेही २०७४ मा राष्ट्रियसभा सदस्य भइसकेका छन् । एमाले जिल्ला अध्यक्ष गजेन्द्र शाहीले पार्टीपङ्क्ति पूर्ण रूपमा चुनावी अभियानमा खटिएको दाबी गरे ।
डडेल्धुरामा यसपटक नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह माल उम्मेदवार छन् ।
घरदैलो अभियानका क्रममा उनले डडेल्धुरालाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने सम्भावना रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी पनि सक्रिय छन् । यसअघि एमाले, एकीकृत समाजवादी लगायत हुँदै रास्वपामा पुगेका जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । “नयाँ सोच र पुरानो अनुभवको समिश्रण आजको आवश्यकता हो,” उनले भने ।
विसं २०७९ को निर्वाचनमा देउवाले २५ हजार ५३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।
प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कूल ९३ हजार ४०३ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनको तुलनामा दुई हजार २०२ मतदाता थपिएका छन् । जिल्लामा १०४ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएका छन्, जसमध्ये ३३ मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा राखिएका छन् ।
यसैगरी राप्रपा, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, जय मातृभूमि पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा छन् । करिब ३४ वर्षपछि पहिलो पटक डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेकका उम्मेदवारलाई मत हाल्ने अवस्था बनेको छ ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो