धनगढी। कैलाली निर्वाचन क्षेत्र नं. ५ मा चुनावी अभियानलाई तीव्र बनाउँदै ‘प्रेमबहादुर आले’ ले आफू अनुभवी र परीक्षण भइसकेको नेता भएको दाबी गरेका छन्।
बिहीबार साँझ धनगढी उपमहानगरपालिका–२, जानकी टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले विगतको अनुभव र कामकै आधारमा आफूलाई “बेटर टेस्टेड मान्छे” भएको बताएका हुन्।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी ११० जना नवयुवाहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए।
नवप्रवेशीहरूलाई स्वागत गर्दै आलेले भने, “अरू परीक्षण हुन बाँकी छन्, म परीक्षण भइसकेको मान्छे हुँ। त्यसैले जनताको काम गर्नु नै मेरो मुख्य जिम्मेवारी हो।”
आफू डोटीबाट तीन पटक निर्वाचित भइसकेको स्मरण गराउँदै उनले दुई पटक वन तथा वातावरण मन्त्रालय र एक पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को जिम्मेवारी सम्हालेको बताए।
“मैले अवसर पाउँदा जिम्मेवारीबाट पछि हटेको छैन,” उनले भने, “वन मन्त्रालय सम्हाल्दा संरक्षण र व्यवस्थापनका क्षेत्रमा ठोस निर्णय गरें। संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा रहँदा सुधारका काम अघि बढाएँ। काम गरेर देखाइसकेको मान्छे हुँ, त्यसैले म टेस्टेड मान्छे हुँ।”
उनका अनुसार राजनीति पदका लागि होइन, परिणामका लागि हुनुपर्छ। “म चुनाव जित्न मात्रै आएको होइन, काम गर्न आएको हुँ,” उनले जोड दिए, “मेरा कामकै कारण जनतामाझ लोकप्रिय बनेको छु। अब फेरि काम गर्ने अवसर चाहिएको हो।”
आलेले विकास, सुशासन र पारदर्शितालाई आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। विगतमा मन्त्रालय सम्हाल्दा गरेका नीतिगत सुधार, संरचनागत परिवर्तन र कार्यान्वयनका पहलहरूले आफूलाई अनुभवसिद्ध नेता बनाएको उनको दाबी छ। “देश र जनताको हितमा कठोर निर्णय लिनुपर्दा पनि पछि हटिनँ,” उनले भने, “काम गर्ने मान्छेलाई फेरि काम गर्ने वातावरण दिनुपर्छ।”
घरदैलो अभियानका क्रममा स्थानीयले सडक, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषय उठाएको उल्लेख गर्दै उनले जिम्मेवारी पाएमा ती समस्याको दीर्घकालीन समाधानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।
चुनावी माहोल तातिरहेको बेला आलेले आफ्नो अनुभव र विगतका कामलाई नै मुख्य चुनावी एजेन्डा बनाएका छन्।
भिडिओ हेर्नुहाेस :






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन