कोरोना महामारीका बेला ५० लाखकाे अक्सिजन सिलिन्डर सहयाेग गरेको स्मरण

कैलाली–५ का मतदातासँग प्रेम आलेको ‘भावनात्मक अपिल’


धनगढी । प्रतिनिधि सभा सदस्य निर्वाचनकाे चुनाव प्रचार प्रसार अबधि गएरातिदेखि समाप्त भएकाे छ ।

प्रचार अबधि सकिएसंगै कैलाली निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार प्रेमबहादुर आले ले मतदातासँग मंगलबार (आज) बिहानै भावनात्मक अपिल गर्दै आफ्नो विगतको काम र योगदानलाई मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ।

“एकपटक छातीमा हात राखेर सोचिदिनुहोस्,” भन्दै आलेले धनगढी र सुदूरपश्चिमका लागि आफूले गरेका पहलहरू स्मरण गराउनुभयो।

उहाँका अनुसार धनगढीबाट हुने हवाई यात्रालाई सहज बनाउन प्लेन भाडा घटाउने पहल, धनगढी विमानस्थलमा दुईवटा जहाज साँझ बस्नैपर्ने व्यवस्था, पहाडी जिल्लामा हवाई सेवा विस्तार तथा बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने काम आफूले अघि बढाएको दाबी गर्नुभयो।

त्यस्तै “वैज्ञानिक वन”का नाममा भइरहेको बदमासी रोक्न पहल गरेको,नारायण हिटि दरबार क्षेत्र र पशुपति क्षेत्रको जग्गा सेटिङ नियन्त्रणमा भूमिका खेलेको तथा सही कुराका लागि आफ्नै दलको नेतृत्वविरुद्ध पनि उभिएको उल्लेख गर्नुभयो।

आलेले कोरोना महामारीको कठिन समयमा व्यक्तिगत ५० लाख रुपैयाँ खर्च गरेर अक्सिजन सिलिन्डर र मास्क डाेटी अस्पताल र सेती प्रादेशिक अस्पताललाई सहयाेग गरेको पनि स्मरण गराउनुभयो। संकटका बेला जनताको साथमा उभिनु आफ्नो कर्तव्य भएको उहाँको भनाइ छ।

गरीब, विपन्न र बिरामी नागरिकका लागि सधैं उपस्थित रहने प्रतिबद्धता दोहोर्याउँदै उहाँले आगामी दिनमा अझ इमान्दार भएर काम गर्ने वाचा गर्नुभएको छ।

“मिलेका अवसरमा सधैं जनताकै लागि काम गरेको छु, अझै गर्नेछु,” भन्दै आलेले कैलाली–५ का मतदातासँग समर्थनको अपिल गर्नुभएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ