धनगढी : कैलाली–५ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नेकपाका उम्मेदवार प्रेमबहादुर आलेले निर्वाचन परिणामलाई स्विकार्दै विजेता उम्मेदवारलाई बधाई दिनु भएको छ।
उहाँले यस पटक अपेक्षित परिणाम नआए पनि लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै जनताको निर्णयलाई स्वीकार गरेको बताउनु भएको छ।
अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएपछि आलेले शनिबार प्रत्यक्ष रूपमा भेटेर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो।
भेटका क्रममा उहाँले लोकतान्त्रिक संस्कारलाई बलियो बनाउन प्रतिस्पर्धीबीच आपसी सम्मान र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले निर्वाचन अभियानका क्रममा आफूलाई समर्थन गर्ने मतदाता, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ।
“जनताको सेवा गर्ने मेरो प्रतिबद्धता कुनै पदसँग मात्र सीमित हुँदैन,” उहाँले भन्नुभयो, “म आगामी दिनहरूमा पनि जनताको समस्या समाधान र विकासका लागि निरन्तर सक्रिय रहनेछु।”
यस अवसरमा आलेले निर्वाचन प्रक्रियामा खटिएका सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक तथा सञ्चारकर्मीप्रति पनि धन्यवाद व्यक्त गर्नु भएको थियो।
उहाँले कैलाली–५ का जनताले देखाएको उत्साहजनक सहभागिता लोकतन्त्रप्रतिको विश्वासको संकेत भएको बताउँदै आगामी दिनमा जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याउनु भयो।
विजेता चन्द लाई बधाई दिँदै नेता आलेले कैलाली-५ को विकास, सुशासन तथा जनताको अपेक्षा पूरा गर्न सफलताको कामना समेत गर्नु भएको छ। उहाँले सबै राजनीतिक दल र नेतृत्वले समग्र विकासका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो।
कैलाली–५ मा भएको यो निर्वाचनलाई राजनीतिक रूपमा निकै महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको थियो।
लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन प्रतिस्पर्धापछि पनि आपसी सम्मान र सहकार्य कायम राख्ने संस्कारलाई सकारात्मक रूपमा लिइएको छ।





