१२ दिनदेखि शवगृहमा शव, परिवारको अडान कायमै; देशभर आक्रोश र विरोध प्रदर्शन

इनिसा विक हत्या प्रकरण : ‘न्याय नपाएसम्म शव उठाउँदैनौं’


समतापोष्ट टिम, वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी सुर्खेत यतिबेला शोक, आक्रोश र न्यायको मागले तातेको छ। १६ वर्षीया इनिसा विकमाथि भएको बलात्कारपछि हत्या घटनाले न केवल एउटा परिवारलाई विछोडको पीडामा डुबाएको छ, बरु समग्र समाजलाई स्तब्ध बनाएको छ।

घटनाको १२ दिन बितिसक्दा पनि इनिसाको शव अझै कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। अस्पतालको चिसो कोठामा थन्किएको त्यो शवसँगै परिवारको पीडा र आक्रोश पनि जमेको छ।
पीडित परिवार आफ्नो अडानमा अडिग छ। उनीहरूको एकै स्वर छ
“न्याय नपाएसम्म हामी शव उठाउँदैनौं।”

शोकसँगै आक्रोश 
वीरेन्द्रनगरका गल्लीदेखि चोकसम्म अहिले एउटा साझा भाव देखिन्छ । क्रोध, असुरक्षा र न्यायको माग। स्थानीय बासिन्दा भन्छन्, यस्तो घटना केवल एक परिवारमाथिको अन्याय होइन, सम्पूर्ण समाजमाथिको चुनौती हो।
एक स्थानीयको भनाइ छ,
“अब त छोरीचेली जोगाउनै गाह्रो भयो। गरिबले न्याय पाउँछ भन्ने विश्वास नै हराउँदै गयो।”

पोस्टमार्टमले रिपोर्टले के भन्छ ?
प्रहरीको प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टले इनिसाको मृत्यु बलात्कारपछि भएको पुष्टि गरेको छ। भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले गरेको परीक्षणमा गम्भीर चोटपटक र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

रिपोर्टअनुसार यौनाङ्गदेखि पाठेघरसम्म गम्भीर क्षति पुगेको र जबर्जस्ती करणीको स्पष्ट संकेत देखिएको छ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, “घटनाको प्रकृति अत्यन्तै क्रूर र अमानवीय देखिन्छ।”

अनुसन्धान : निष्कर्ष नजिक, तर बहसले थप जटिल
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसन्धान करिब निष्कर्षतर्फ पुगेको छ। तर सामाजिक सञ्जाल, स्थानीय दबाब र विभिन्न शंकाहरूका कारण अनुसन्धानलाई थप विभिन्न कोणबाट अघि बढाइएको छ।
प्रहरी स्रोत भन्छ, “हामी कुनै पनि पक्ष छुटाउन चाहँदैनौं। पछि प्रश्न उठ्ने ठाउँ नै नरहोस् भन्ने उद्देश्यले सबै पक्षबाट अनुसन्धान भइरहेको छ।”

यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पोलिग्राफ टोली, सीडीआर विश्लेषकसहितका प्राविधिक टोली परिचालन गरिएको छ।

मोबाइल, डिजिटल डाटा र जैविक नमूना केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।

घटनास्थलमा के भेटियो ?
अनुसन्धानका क्रममा घटनास्थलमा इनिसाको शरीरका अन्य भागमा ठूला चोटपटक नदेखिए पनि यौनाङ्गबाट बगेको रगतले जमिन भिजेको अवस्था भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै झोला, जुत्ता र मोजा छुट्टै अवस्थामा भेटिएको थियो, जसले घटनाको प्रकृतिबारे थप प्रश्न उठाएको छ। पिडित परिवारले भने घटनास्थलमा कपाल लुछिएकाे अबस्थामा मृत भेटिएको र चुरा फुटेकाे,कण्डम फेला परेकाे दाबि गरेकाे छ ।

अभियुक्तको बयान र विरोधाभास
प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय मुख्य अभियुक्त अनमाेल गौलीले इनिसा आफ्नो प्रेमिका भएको र सहमतिमै सम्बन्ध भएको दाबी गरेका छन्।
तर पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अवस्था र शारीरिक चोटपटकले उक्त दाबीलाई समर्थन नगर्ने देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन्।

परिवार, स्थानीय र अधिकारकर्मीहरूले भने यो घटना सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

हामीलाई दलित भनेर हेपियो’ : परिवारको गुनासो
पीडित परिवारले घटनापछि आफूहरूले जातीय विभेदको अनुभूति गरेको बताएका छन्।
परिवारका एक सदस्य भन्छन्,
“हामी दलित भएकै कारण हाम्रो आवाज सुन्ने कोही छैन जस्तो लाग्यो। हाम्रो पीडालाई गम्भीर रूपमा लिइएन।”
यो भनाइले समाजमा अझै विद्यमान जातीय विभेद र न्याय पहुँचको असमानतालाई उजागर गरेको छ।

मुख्यमन्त्री पुगे घरमै
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल पीडित परिवारलाई भेट्न घरमै पुगेका थिए। उनले शव बुझेर अन्त्येष्टि गर्न आग्रह गरे पनि परिवारले स्पष्ट अस्वीकार गरेको छ।

मानवअधिकार आयोगको चासो
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले पनि घटनाको अध्ययन गरेको जनाएको छ। आयोगले अनुसन्धान प्रक्रिया, घटनास्थल र पीडित परिवारको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।

विद्यार्थी र नागरिक समाज आन्दोलित
इनिसा अध्ययन गर्ने उषा बालबाटिका विद्यालयका विद्यार्थीहरू पनि आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले “इनिसालाई न्याय दे”, “दोषीलाई कडा कारबाही गर” जस्ता नारासहित प्रदर्शन गरिरहेका छन्।

देशभर विद्यार्थी, अधिकारकर्मी र नागरिक समाजका अगुवाहरू सडकमा उत्रिएका छन्। काठमाडौंको माइतीघरदेखि पोखरा, जनकपुर, बुटवल, दाङ, दमक, नेपालगञ्ज र धनगढीसम्म विरोध प्रदर्शन भइरहेको छ।

देशव्यापी आक्रोश : एउटा घटनाले उठाएको ठूलो प्रश्न
यो घटना केवल एउटा आपराधिक घटना मात्र होइन, यसले देशमा महिला सुरक्षा, न्याय प्रणालीको विश्वसनीयता र सामाजिक विभेदका गहिरा प्रश्न उठाएको छ।
धेरैको भनाइमा,
“यदि यस्तो घटनामा पनि दोषी उम्किए भने, समाजमा न्यायप्रति विश्वास पूर्ण रूपमा गुम्नेछ।”

परिवारकाे अडान अझै कायम
पीडित परिवार अझै आफ्नो अडानमा अडिग छ। उनीहरूको माग स्पष्ट छ ।
सत्य बाहिर आओस्, दोषीलाई कडा सजाय होस्।
उनीहरू भन्छन्,
“न्याय नपाएसम्म हामी शव उठाउँदैनौं।”


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ