सुकुमवासीको पाँच ठाउँमा बास


काठमाडौं। दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ। सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो।

बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई पाँच फरक स्थानमा राख्ने योजना बनाइएको छ। तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनमा अस्थायी व्यवस्थापन गरिने जनाइएको छ।

हालसम्म ७२ जना सुकुमवासीले स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्। विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।

यस कदमलाई व्यवस्थापनमुखी प्रयासका रूपमा हेरिए पनि दीर्घकालीन पुनर्वासको स्पष्ट खाका भने अझै सार्वजनिक भएको छैन, जसले सुकुमवासीको भविष्यबारे थप चासो र बहस उत्पन्न गरेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ