कञ्चनपुर। ‘पहिले गुजारा चलाउनै गाह्रो थियो, अहिले यही बगरले हामीलाई बाँच्न सिकाएको छ,’
६० वर्षीय रामलखन चौधरीको अनुहारमा खुशी झल्किन्छ।
कञ्चनपुरको वनहरा नदीको बगर, जहाँ कहिल्यै खेती सम्भव होला भन्ने कल्पना गरिँदैनथ्यो, आज त्यहीँ दुई दर्जनभन्दा बढी मुक्त कमैया परिवारका लागि जीवन धान्ने आधार बनेको छ। उनीहरू लहरे तरकारी खेती गर्दै आत्मनिर्भर बन्ने यात्रामा छन्।
रामलखन चौधरीसहितका किसानहरूले काक्रा, लौका, फर्सी, चिचिण्डा र तर्भुजा जस्ता बाली लगाउँदै आएका छन्। बगरको उर्वर बालुवामिश्रित जमिन र नदीको नजिकैको पानी स्रोतले उनीहरूको खेतीलाई साथ दिएको छ।
‘यो सिजनमै चार लाखसम्म आम्दानी हुन्छ,’ चौधरी भन्छन्, ‘पहिले अरूको भर पर्नुपर्थ्यो, अहिले आफ्नै मेहनतले कमाइ भइरहेको छ।’
उनीहरूले वनहरा नदीको पक्की पुल नजिकै टहरा बनाएर आफ्ना उत्पादन बिक्री गर्दै आएका छन्। त्यहाँबाट गुड्ने सवारीसाधन रोकिन्छन्, यात्रुहरू झर्छन् र ताजा काक्रा र तर्भुजा किनेर मात्रै होइन, त्यहीँ बसेर खान पनि रुचाउँछन्।
‘धेरैजसोले गाडी रोकेरै खान्छन्, स्वाद फरक लाग्छ भन्छन्,’ उनी मुस्कुराउँदै सुनाउँछन्।
मुक्त कमैया परिवारका लागि यो खेती केवल आम्दानीको माध्यम मात्र होइन, आत्मसम्मान र आत्मनिर्भर बन्ने बाटो पनि बनेको छ। वर्षौंदेखि श्रम गरेर पनि स्थायित्व नपाएका यी परिवारहरू अहिले आफ्नै उत्पादनमा गर्व गर्न थालेका छन्।
स्थानीय स्तरमै सुरु गरिएको यस्तो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण बनेको छ वनहरा नदीको बगर। जहाँ कहिल्यै खाली देखिने जमिन अहिले हरियालीले भरिएको छ र त्यही हरियालीले दर्जनौं परिवारको जीवन उज्यालो बनाइरहेको छ।
‘अब यही खेतीलाई अझ बढाउने सोच छ,’ चौधरी भन्छन्, ‘हामीले दुःख गरेर कमाएको यही आम्दानी हाम्रो भविष्य हो।’
वनहरा नदीको बगरमा फलेको हरियो तरकारीसँगै, यहाँका मुक्त कमैयाहरूको सपना पनि विस्तारै फस्टाउँदै गएको छ।
तस्बिर: राससबाट







धरानमा सुकुमबासीको प्रदर्शनमा दलहरूको समर्थन
बरु बाढीबाट बच्न सकियो तर सरकारबाट बच्न सकिएन !
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक
बगर खेतीले फेरिएको मुक्त कमैयाको जीवन
धोबीखोलामा डोजर चलेपछि अदालतको ‘आदेश र लालपुर्जा’ देखाउँदै स्थानीयको प्रतिवाद
आठ वर्षपछि प्रियंकाको आँखामा फर्कियो उज्यालो