हारपछि वडावडामा पुगे आले, मतदातालाई दिए धन्यवाद


धनगढी : कैलाली–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले निर्वाचन परिणाममा पराजित भए पनि मतदातामाझ पुगेर धन्यवाद ज्ञापन गर्ने अभियान सुरु गरेका छन्।

उनले निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर आफूलाई साथ र सहयोग गर्ने मतदाता, समर्थक तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका हुन्।

आलेले चुनावी परिणाम अपेक्षा अनुसार नआए पनि लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै मतदातासँगको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले धन्यवाद अभियान थालेको बताएका छन्।

उनले घरदैलो, भेटघाट र टोलसभामा सक्रिय रूपमा खट्ने नेता तथा कार्यकर्तालाई विशेष रूपमा धन्यवाद दिएका छन्।

निर्वाचन अभियानका क्रममा आफूलाई मतदान गर्ने वा नगर्ने सबै मतदाताप्रति समान सम्मान रहेको उल्लेख गर्दै आलेले लोकतन्त्रमा मतदाताको निर्णय नै अन्तिम हुने बताए। उनले मतदाताको विश्वास, सुझाव र आलोचनालाई पनि आफूले सकारात्मक रूपमा लिएको बताएका छन्।

“निर्वाचन परिणाम जस्तोसुकै भए पनि जनतासँगको सम्बन्ध टुट्दैन। चुनावका बेला मात्रै होइन, हरेक समयमा जनताको बीचमा रहनु नै मेरो कर्तव्य हो,” उनले भने।

आलेले निर्वाचनका क्रममा सहयोग गर्ने स्थानीय अगुवा, युवा, महिला समूह तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा जनसरोकारका विषयमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

उनले लोकतन्त्रमा चुनाव जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा र विकासका मुद्दामा निरन्तर लागिरहने बताए। साथै उनले कैलाली–५ को समग्र विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ