इनिसा विकको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष


काठमाडौं : सुर्खेतकी १६ वर्षीया बालिका इनिसा विकको पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले उनको बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ।

प्रहरीले पोस्टमार्टम रिपोर्ट र आरोपितको बयानका आधारमा इनिसाको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको जनाएको छ। गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगरमा परिवारसँग बस्दै अध्ययन गर्दै आएकी थिइन्।

२३ फागुनमा घरबाट विद्यालयका लागि निस्किएकी इनिसा वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकको वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानपछि प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो।

इनिसाको बलात्कारपछि हत्या भएको भन्दै परिवारले यसअघि नै प्रहरीमा उजुरी दर्ता गराइसकेका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका चारै जना १८ वर्षमुनिका रहेका छन्। तर सरोकारवालाहरूले भने आरोपितहरूको उमेर घटाएर देखाउने प्रयास भएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार इनिसा र आरोपितमध्येका एक युवकबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। २३ फागुनको बिहान उनीहरू शहीद पार्कतर्फ घुम्न गएको र त्यही क्रममा इनिसामाथि जबरजस्ती भएको प्रहरीले जनाएको छ। जबरजस्ती करणीपछि पाठेघर च्यातिँदा अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन जना चिकित्सक र भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार प्राप्त भएको हो। रिपोर्टमा जबरजस्ती करणीका क्रममा संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको उल्लेख गरिएको छ।

इनिसाको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै सुर्खेतसहित देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। सुर्खेत, काठमाडौंको माइतीघर मण्डला, दाङको तुल्सिपुर लगायतका ठाउँमा अधिकारकर्मी र युवाहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका छन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ