काठमाडौं । देशभर फैलिएको गुठीको जग्गा कति छ भन्ने यकिन अभिलेख गुठी संस्थानसँग नै नरहेको खुलासा भएको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनले संस्थानको कमजोर अभिलेख प्रणालीमाथि गम्भीर प्रश्न उठाएको हो ।
प्रतिवेदनअनुसार गुठी संस्थानसँग जिल्लागत रूपमा जग्गाको पूर्ण विवरण छैन । यही कारण संस्थानको नाममा रहेको कुल जग्गाको वास्तविक क्षेत्रफलसमेत एकिन हुन सकेको छैन ।
महालेखाले गुठीको नाममा रहेका जग्गा तथा सम्पत्तिको एकीकृत अभिलेख तत्काल तयार गर्न र त्यसको संरक्षण तथा उपयोगको स्पष्ट व्यवस्था गर्न सुझाव दिएको छ ।
प्रतिवेदनले विभिन्न जिल्लामा गुठीका जग्गा अतिक्रमणमा परेको तथ्य पनि औँल्याएको छ । धनुषामा ४३ दशमलव ५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा र पर्सामा ७ बिघा जग्गा अतिक्रमण भएको उल्लेख छ ।
उपत्यकामा पनि गुठीको जग्गा जोगिएको छैन । काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा २ रोपनी जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले संस्थानले अतिक्रमित जग्गाको पूर्ण लगतसमेत तयार नगरेको भन्दै आलोचना गरेको छ । अन्य जिल्लामा कति जग्गा मिचिएको छ भन्ने अद्यावधिक विवरणसमेत संस्थानसँग छैन ।
गुठी संस्थान कार्यव्यवस्था विनियम २०४९ अनुसार संस्थानले आफ्नो अधिकार क्षेत्रभित्रको जग्गाको छुट्टै अभिलेख राखेर नियमित अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तर व्यवहारमा भने त्यो कार्य प्रभावकारी रूपमा नभएको देखिएको छ ।
प्रतिवेदनअनुसार देशका ६८ जिल्लामा गुठीका नाममा पहाडमा ५ लाख ६१ हजार ९ सय ९० रोपनी र तराईमा ६६ हजार ३ सय २० बिघा जग्गा रहेको उल्लेख छ ।
तर यति विशाल सम्पत्तिको स्पष्ट अभिलेख नै नहुनु र अतिक्रमण बढ्दै जानु संस्थानको व्यवस्थापनमाथि गम्भीर प्रश्न बनेको छ ।






सरकारको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
कामिरिता शेर्पाले गरे ३२ औं पटक सगरमाथाको सफल आरोहण
इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु
३६ दलित घरधुरीका लागि एकीकृत बस्ती विकास कार्यक्रम लागू
जबजको मूल मर्मलाई आत्मसात् गरौं : पूर्वराष्ट्रपति
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित