वाइसीएल भन्नेबित्तिकै २०६२/६३ को जनआन्दोलन र राजनीतिक परिवर्तनको त्यो ऐतिहासिक कालखण्ड सम्झनामा आउँछ। त्यतिबेलाको वाइसीएल केवल एउटा संगठन मात्र थिएन, यो परिवर्तन, साहस, त्याग, अनुशासन र जनपक्षीय संघर्षको प्रतीक थियो।
वाइसीएलको नाम सुन्नासाथ भ्रष्टाचार, दलाली र जनविरोधी गतिविधिमा संलग्न तत्वहरू त्रसित हुन्थे। समाजमा हुने अन्याय, शोषण, उत्पीडन र बेथितिविरुद्ध अग्रपंक्तिमा उभिने शक्तिका रूपमा वाइसीएल स्थापित भएको थियो।
तर विडम्बना, आज पनि वाइसीएल अस्तित्वमा रहे पनि यसको भूमिका, गतिविधि र प्रभावबारे धेरै माओवादी कार्यकर्तालाई समेत स्पष्ट जानकारी छैन।
पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार भइरहेका बेला युवा संगठन कहाँ छ, के गरिरहेको छ र समाजमा यसको हस्तक्षेप कस्तो छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठिरहेको छ। एक समय जनताको पक्षमा दृढतापूर्वक उभिने, समाजमा सकारात्मक हस्तक्षेप गर्ने र पार्टीको रक्षाकवचका रूपमा परिचित संगठन आज किन निष्क्रियजस्तो देखिन पुगेको छ भन्ने विषय गम्भीर समीक्षा र आत्ममूल्यांकनको विषय बनेको छ।
वर्तमान राजनीतिक परिदृश्यलाई नियाल्दा नेपालमा कम्युनिस्ट आन्दोलन क्रमशः कमजोर बन्दै गएको अनुभूति हुन्छ। यसको कारण केवल बाह्य चुनौती मात्र होइनन्, आन्तरिक कमजोरीहरू पनि उत्तिकै जिम्मेवार छन्।
विचार, संघर्ष र जनसेवाभन्दा पद, प्रतिष्ठा, अवसर र सत्ताकेन्द्रित राजनीतिमा बढी ध्यान केन्द्रित हुँदा आन्दोलनको मूल चरित्र कमजोर बन्दै गएको छ। जब संगठनभित्र त्याग, अनुशासन, वैचारिक स्पष्टता र जनताप्रतिको उत्तरदायित्व कमजोर हुन्छ, तब आन्दोलनको शक्ति पनि स्वतः क्षीण हुँदै जान्छ।
युवा संगठन कुनै पनि राजनीतिक आन्दोलनको ऊर्जा, गतिशीलता र भविष्यको आधार हो। त्यसैले वाइसीएलजस्तो संगठनलाई केवल औपचारिक संरचनामा सीमित राखेर आन्दोलनलाई सशक्त बनाउन सकिँदैन। युवाहरूलाई वैचारिक रूपमा प्रशिक्षित गर्ने, सामाजिक उत्तरदायित्वका कार्यमा परिचालन गर्ने तथा समाजमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार र अन्यायविरुद्ध सक्रिय भूमिका खेल्ने वातावरण निर्माण गर्न आवश्यक छ।
आजको वाइसीएलले विगतको जस्तो जनविश्वास हासिल गर्न सक्नुपर्छ। त्यसका लागि संगठनले जनताका दैनिक समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धका अभियानमा अग्रसर भूमिका निर्वाह गर्नुपर्छ। युवाहरूलाई केवल राजनीतिक नारामा सीमित नराखी समाज रूपान्तरणका व्यावहारिक अभियानमा जोड्न सकियो भने मात्र संगठनप्रतिको विश्वास पुनः स्थापित हुन सक्छ।
आज फेरि २०६२/६३ को जस्तै ऊर्जाशील, जनमुखी, अनुशासित र क्रियाशील वाइसीएलको आवश्यकता महसुस गरिएको छ। समय बदलिएको छ, चुनौतीहरू पनि बदलिएका छन्, तर जनताको पक्षमा उभिने, अन्यायविरुद्ध संघर्ष गर्ने र परिवर्तनको नेतृत्व गर्ने जिम्मेवारी अझै समाप्त भएको छैन। त्यसैले पार्टी नेतृत्वले वाइसीएललाई केवल नाममा सीमित राख्ने होइन, जनताको बीचमा सक्रिय, विश्वासिलो र परिवर्तनको वाहक शक्तिका रूपमा पुनर्जीवित गर्ने दिशामा गम्भीर पहल गर्नुपर्छ।
यदि कम्युनिस्ट आन्दोलनलाई पुनः जनताको आशा, भरोसा र विश्वासको केन्द्र बनाउने हो भने, २०६२/६३ को संघर्षशील भावना, वैचारिक प्रतिबद्धता र जनमुखी चरित्र बोकेको नयाँ वाइसीएल निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। नेतृत्वले यसतर्फ गम्भीर ध्यान दिओस्, यही अपेक्षा छ।
लेखक : निवर्तमान वाइसीएल केन्द्रीय सदस्य हुन







‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन