आदरणीय अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख नेता कमरेड प्रचण्ड,
क्रान्तिकारी अभिवादन!
यो खुला पत्र कुनै व्यक्तिगत स्वार्थ, पद वा अवसरको अपेक्षासहित लेखिएको होइन। परिवर्तन, न्याय, समानता र जनताको मुक्तिका लागि लामो समयदेखि सङ्घर्षरत लाखौँ कार्यकर्ता, शुभेच्छुक तथा आम जनताको भावना अभिव्यक्त गर्ने प्रयासस्वरूप यो पत्र लेख्दैछु।
आज विश्वभर कम्युनिष्ट आन्दोलन विभिन्न कारणले चुनौतीको सामना गरिरहेको छ। कतै नेतृत्वको विचलन, कतै जनतासँगको दूरी, कतै सिद्धान्त र व्यवहारबीचको अन्तर तथा कतै अवसरवादका कारण आन्दोलनले आफ्नो पुरानो साख गुमाउँदै गएको छ। नेपाल पनि यसबाट अछुतो छैन। जनयुद्ध, जनआन्दोलन र ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको आन्दोलन आज जनताले अपेक्षा गरेजति बलियो, जनमुखी र प्रभावकारी देखिन सकेको छैन।
यस्तो अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्ने, नयाँ दिशा दिने र जनताको विश्वास पुनः जित्ने जिम्मेवारी तपाईँजस्तो अनुभवी तथा ऐतिहासिक नेतृत्वमाथि आएको छ। विगतका सफलता र कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने साहसिक पहल आजको आवश्यकता हो।
कमरेड प्रचण्ड,
माओवादी आन्दोलनको सबैभन्दा ठूलो शक्ति जनता थिए, छन् र भविष्यमा पनि रहनेछन्। त्यसैले पार्टीका सम्पूर्ण भातृ संगठन, जनवर्गीय संगठन तथा केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मका संरचनाहरूलाई जनताको घरदैलोमा पुग्ने, जनताका समस्या सुन्ने र समाधानका लागि संघर्ष गर्ने दिशामा परिचालन गर्न आवश्यक छ।
त्यसका साथै पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोड्ने अभियान सञ्चालन गरिनुपर्छ। श्रम, उत्पादन र आत्मनिर्भरताको संस्कृतिलाई पुनः स्थापित गर्दै पार्टीलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्नुपर्छ। उत्पादनमा आधारित संगठन, जनसेवामा आधारित राजनीति र जनविश्वासमा आधारित नेतृत्व निर्माण गर्न सकियो भने आन्दोलनले नयाँ ऊर्जा प्राप्त गर्नेछ।
आज हजारौँ युवाहरू बेरोजगारी, गरिबी र निराशाका कारण विदेशिन बाध्य छन्। किसान उत्पादनको उचित मूल्य नपाएर समस्यामा छन्। मजदुरहरू आफ्नो श्रमको सम्मानजनक प्रतिफलबाट वञ्चित छन्। दलित, महिला, उत्पीडित समुदाय तथा दुर्गम क्षेत्रका नागरिकहरू अझै पनि समान अवसरको प्रतीक्षामा छन्। यस्ता वर्ग र समुदायको वास्तविक पक्षधर बनेर संघर्ष गर्न सक्ने शक्ति फेरि माओवादी आन्दोलन नै बन्नुपर्छ।
०६२/०६३ सालताका जनताले जुन आशा, विश्वास र उत्साहका साथ माओवादी आन्दोलनलाई साथ दिएका थिए, त्यो भावना आज पनि जनताभित्र कतै न कतै जीवित छ। तर त्यसलाई पुनः जागृत गर्न आत्मसमीक्षा, सुधार, अनुशासन, जनताप्रतिको उत्तरदायित्व र स्पष्ट वैचारिक दिशाको आवश्यकता छ। आन्दोलनलाई फेरि शून्यबाट सुरु गर्नुपरे पनि जनताको बीचमा गएर नयाँ विश्वास निर्माण गर्ने साहस नेतृत्वले देखाउनुपर्छ।
कमरेड प्रचण्ड,
इतिहासले तपाईंलाई केवल एउटा पार्टीको नेता मात्र होइन, एउटा युगीन परिवर्तनको नेतृत्व गरेको व्यक्तित्वका रूपमा चिन्ने गरेको छ। त्यसैले व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर समग्र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध, जनमुखी र उत्पादनमुखी दिशामा अगाडि बढाउने ऐतिहासिक भूमिका निर्वाह गर्नुहोस् भन्ने अपेक्षा छ।
जनताको आशा, कार्यकर्ताको बलिदान र परिवर्तनको सपनालाई पुनर्जीवित गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई फेरि एकपटक नयाँ उचाइमा पुर्याउने नेतृत्व तपाईँबाट होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
क्रान्तिकारी अभिवादनसहित,
-प्रकाश नेपाली
एक सचेत कार्यकर्ता तथा परिवर्तनको पक्षधर







किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?