काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।
गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न माग गर्दै विभिन्न समूहका युवाहरू माइतीघरमा भेला भएका थिए। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै घटनाप्रति राज्य जिम्मेवार बन्नुपर्ने बताएका थिए।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले निष्पक्ष अनुसन्धान र जिम्मेवार निकायमाथि कारबाहीको माग गर्दै सडकमा विरोध जनाएपछि प्रहरीसँग केही समय धकेलाधकेल भएको थियो। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा राख्न सुरक्षा घेरा कडा बनाएको थियो।

प्रदर्शनका कारण केही समय माइतीघर–नयाँ बानेश्वर सडकखण्डको सवारी आवागमन प्रभावित भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई सडकबाट हटाएपछि अवस्था सामान्य बनेको थियो।
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपाली गम्भीर रूपमा घाइते भएका थिए। उनको उपचारका क्रममा शुक्रबार निधन भएपछि घटनाले देशभर चासो र आक्रोश बढाएको छ। सामाजिक सञ्जालमा समेत घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै व्यापक प्रतिक्रिया आइरहेका छन्।
यस घटनाबारे सम्बन्धित निकायबाट औपचारिक छानबिनको माग उठिरहेको छ भने प्रदर्शनकारीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार आग्रह गरेका छन्।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग