गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण


काठमाडौं : नेपाल दलित मोर्चा, केन्द्रीय समितिले राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिकाका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

शनिबार जारी प्रेस वक्तव्यमा मोर्चाले गणेश नेपालीको निधनले केवल संगठनलाई मात्र नभई समग्र देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।

मोर्चाले दलित मुक्ति, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको सरकारले नागरिकको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएको छ।

सरकारको गैरजिम्मेवार र स्वेच्छाचारी व्यवहारका कारण गणेश नेपाली आत्मदाहजस्तो कठोर निर्णय लिन बाध्य भएको दाबी गर्दै यस्ता घटनाहरू राज्यप्रतिको बढ्दो निराशाको परिणाम भएको जनाएको छ।

वक्तव्यमा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी गणेश नेपालीलाई न्याय दिलाउन देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी पनि मोर्चाले दिएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ