काठमाडौं : मुगु जिल्लाका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको घटनाप्रति नेपाल दलित संघले गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहत र न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।
शनिबार अध्यक्ष बिपेन्द्र रामुदामु (विपिन)द्वारा जारी प्रेस विज्ञप्तिमा गणेश नेपालीको निधनले संगठन स्तब्ध, मर्माहत र शोकाकुल भएको उल्लेख गरिएको छ। संघले स्वर्गीय गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा गणेश नेपालीको मृत्युलाई केवल एक व्यक्तिको निधन नभई राज्यको जिम्मेवारी, नागरिकप्रतिको संवेदनशीलता, सामाजिक न्याय र सुशासनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषयका रूपमा व्याख्या गरिएको छ। जीवनको ऊर्जाशील उमेरमा एक युवा आत्मदाहको प्रयास गर्न बाध्य हुनु र उपचारका क्रममा ज्यान गुमाउनु राज्यका लागि गम्भीर आत्मसमीक्षाको विषय भएको संघको भनाइ छ।
नेपाल दलित संघले आत्मदाह प्रयाससम्म पुग्न बाध्य पार्ने कारण, घटनाका सम्पूर्ण सत्यतथ्य तथा उपचार प्रक्रियाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी सत्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। साथै घटनामा जिम्मेवार देखिने व्यक्ति वा निकायमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने जनाएको छ।
संघले गणेश नेपालीको परिवार, विशेषगरी उनकी श्रीमती तथा आश्रित परिवारलाई उचित राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। पीडित परिवारको जीवनयापन सहज बनाउन आवश्यक सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाल दलित संघले भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन राज्यका सबै निकाय नागरिकप्रति थप उत्तरदायी, जवाफदेही र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याएको छ। विशेषगरी गरिब, विपन्न, दलित तथा सीमान्तकृत समुदायले न्याय, सम्मान र समान अवसर पाउने वातावरण निर्माण गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने संघको जोड छ।







गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन