काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा स्थलगत अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ।
बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले गरेको अनुगमनमा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्तो अवस्था बालबालिकाको स्वास्थ्य, सुरक्षा र समग्र विकासका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालिएको छ।

मन्त्रालयले नेपाल बाल संगठनलाई भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र बालबालिकाको बसोबास व्यवस्थित बनाउन यसअघि पटक–पटक निर्देशन दिँदै आएको थियो। सम्बन्धित पक्षसँग छलफलसमेत भए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धार प्रक्रिया अघि बढाएको जनाएको छ।
पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहकै केही कर्मचारीबाट त्यहाँको अवस्थासम्बन्धी भिडियो मन्त्रालयमा पुगेका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए।

यही आधारमा बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको स्वास्थ्य परीक्षण, संरक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घटनासम्बन्धी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइसकिएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्थाको समेत मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।






नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी