हत्या अभियोगमा फरार कांग्रेस नेता उद्धव बोहरा पक्राउ


धनगढी । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनकाअनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको आरोप छ ।

एसपी जोशीका अनुसार बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए । तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो । तर, खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो ।

बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ