आन्तरिक छलफलमा माओवादी


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ ।

‘जनतासँग माओवादी, तराई(मधेश जागरण अभियान’ स्थगित गरेर संघीय राजधानी काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका छन् ।

राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् ।

अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ काठमाडौं आइपुग्न बाँकी रहेकाले पदाधिकारीको बैठक बस्ने समय तय भएको छैन । ‘आज बेलुकीसम्म पदाधिकारी बैठकको समय टुंगो लाग्छ । त्यसअघि शीर्ष नेताहरू अनौपचारिक आन्तरिक समीक्षामा छौं’, एक पदाधिकारीले भने ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पार्टीको उपस्थिति काठमाडौंमा हुन आवश्यक रहेको महसुस भएकाले केही समयका लागि अभियान स्थगित हुन पुगेको बताउँछन् ।

उनका अनुसार सरकारको गतिविधि, राजवादीको गतिविधि र स्ववियु निर्वाचन नै प्रमुख कारण हुन् ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते हुँदैछ । राजवादीहरूले काठमाडौं केन्द्रित अभियान समेत गरिरहेका छन् ।

एकातिर राजवादीले गतिविधि बढाउनु र अर्कोतिर भारतले वर्तमान प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो नदिएको अवस्थामा कुनै राजनीतिक गतिविधि हुन सक्ने माओवादीको आशंका छ ।

‘केही न केही उटपट्याङ गर्ने प्रधानमन्त्रीजीको स्वभाव छ । भारतले भ्रमणमा समेत नबोलाएको र कांग्रेसभित्र सरकारबारे देखिएको असन्तुष्टिकाबीच प्रधानमन्त्रीले स्वभावजन्य गतिविधि केही न केही गर्न सक्नुहुन्छ जसले मुलुकलाई अहित गर्न पनि सक्छ’, उपाध्यायले आशंका व्यक्त गरे ।

तर, केही समयमै स्थगित अभियान पुनः सुरु गरिने पनि उनले बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ