

काठमाण्डु । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबा।र पहाड र हिमाी क्षेत्रमा मनाइँदैछ । यो पर्व शुक्रबार तराइ क्षेत्रमा मनाइने छ ।
नेपालमा हिमाल र पहाड तथा तराईमा गरी दुई दिनसम्म होली पर्व मनाइने गरिन्छ । विजयको प्रतीकको रूपमा होली पर्व मनाइे प्रचलन छ ।
हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा होली मनाउने प्रचलन शुरु भएको बताइन्छ ।
फागु पर्व नेपाल र भारतसहित विश्वका अन्य देशहरूमा पनि आफ्नै मौलिक संस्कृति र तरिकाले मनाउने गरिन्छ । तर जहाँ जुन सांस्कृतिक तरिकाले होली पर्व मनाइए पनि सबै स्थानमा भने रंगको प्रयोग अवश्य गरिन्छ । हिन्दु धर्मावलम्बी रहेका अधिकांश देशमा फागु पुर्णिमा कै दिन होली मनाइने गरिएको पाइन्छ ।
विश्वमा यस्ता थुप्रै देशहरू छन् जहाँ पारम्परिक तरिकाले रंगहरूको उत्सव मनाइन्छ । श्रीलंका, र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
इटलीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ ।
चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यस्तै प्रकारको पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।
हेरौं कुन देशमा कसरी मनाइन्छ
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । दिनभर होली खेलेर साँभ मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।
सुरिनाम
सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन् । त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ । साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ ।
अमेरिका
अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन् । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ । आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो ।
बंगलादेश
बंगलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन् ।
मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ ।
बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।
गुयाना
दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ । यहाँ पानी, रङ र गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।
बेलायत
बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ–आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ ।
ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ ।
होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।
मरिसस
अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् । यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलिका दहन गर्ने चलन छ । एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ । साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।
फिजी
फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ । राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसमभरिनै होली गीतहरू गाइन्छ ।
पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घर–आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।
