सर्पको डसाइबाट छाउगोठमा सुतेकी कमलाको मृत्यु


धनगढी । छाउगोठमा सुतेकी एक महिलाको ज्यान गएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालिकी २८ वर्षीय कमला आउजीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार घरबाट करिब ६० मिटरको दुरीमा रहेको छाउगोठमा सुत्न गएकी उनलाई राति १० बजे बजे सर्पले टोकेको थियो।

झुल लगाएर सुतेकी कमला गर्मी भएपछि झुल बाहिर टाउको निकालेर सुतेकी थिइन्। त्यहीबेला उनलाई सर्पले टोकेको परिवारले जानकारी दिए ।

बेहोस अवस्थामा भेटिएकी उनलाई आफन्तले राति नै अटो बोलाएर उपचारका लागि राति १२ बजे धनगढीको सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । गम्भीर अवस्थामा पुगेकी उनलाई बिहान ४ बजे सघन उपचार कक्ष आइसियुमा राखिएको थियो । तर उपचारकै क्रममा शनिबार राति ८ बजे आउजीको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

छाउ भएको बेला घरभित्र बस्दा देउता रिसाउने डरले सुदूरपश्चिमका महिलाहरु छाउगोठमा सुत्नु पर्ने बाध्यता छ ।

मृतक कमलाका नाबालक १५ वर्षीय, १२ वर्षीय र पाँच वर्षीय तीन छोरा छन् भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ