धनगढी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन मागिरहेका बेला सुदूरपश्चिममा भने रोजगारसम्बन्धी एउटा विषयले नयाँ बहस जन्माएको छ।
सेती प्रादेशिक अस्पताल बाट लामो समयदेखि कार्यरत ४५ जना नर्स, कर्मचारी, मजदुर तथा सरसफाइ कर्मीलाई एकैपटक निष्कासन गरिएको घटनाले स्थानीय तहमा तरंग पैदा गरेको हो।
अस्पताल प्रशासनले सेवा सम्झौता नवीकरण नगरिएको जनाए पनि निष्कासित कर्मचारीहरूले भने बिना कारण रोजगारी खोसिएको गुनासो गरेका छन्।
पीडित कर्मचारीहरूले आफूहरू वर्षौंदेखि अस्पतालमा निरन्तर सेवा दिँदै आएको र अकस्मात् हटाइँदा जीविकोपार्जनमा गम्भीर असर परेको बताएका छन्। “हामीले नियमित काम गर्दै आएका थियौं, तर कुनै स्पष्ट कारण नदिई बाहिर निकालियो,” एक निष्कासित कर्मचारीले दुख व्यक्त गरे।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्मिलित सरकारको कार्यशैलीप्रति विपक्षी दल तथा स्थानीय सरोकारवालाहरूले प्रश्न उठाएका छन्। उनीहरूले निर्वाचनको मुखमा यस्तो निर्णय अमानवीय र श्रमिक–विरोधी भएको आरोप लगाएका छन्।
स्थानीय नागरिक तथा अधिकारकर्मीहरूले हरेक नागरिकलाई संविधानले रोजगारीको हक सुनिश्चित गरेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्नुपर्ने राज्यले उल्टै काम गरिरहेकालाई हटाउनु दुःखद भएको बताएका छन्। अस्पताल प्रशासनविरुद्ध सामाजिक सञ्जालदेखि विभिन्न कोणबाट आलोचना भइरहेको छ।
आगामी निर्वाचनमा रोजगारी, श्रमिक अधिकार र सामाजिक सुरक्षाका मुद्दा प्रमुख एजेन्डा बन्ने संकेत देखिएको छ। पीडित कर्मचारीहरूले न्यायोचित पुनःबहाली वा क्षतिपूर्तिको माग राखेका छन् भने सरोकारवालाहरूले तत्काल संवाद र समाधानको पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
चुनावको संघारमा उठेको यो विवादले मतदातालाई पनि सोच्न बाध्य बनाएको छ । रोजगारी सिर्जना गर्ने प्रतिबद्धता राख्ने दललाई समर्थन गर्ने कि रोजगारी खोस्ने निर्णयलाई स्वीकृति दिने? आगामी मतदानले यस प्रश्नको जवाफ दिनेछ।
सेती अस्पतालले नियुक्ति गरेकाे कर्मचारीहरु निस्कासन नगरिएको बताउँदै तल्लाे तहका कर्मचारीहरु हरेक बर्ष टेण्डर प्रकृयाबाट आपुर्ती गरिने सरकारकाे निति,कानुन अनुसार नयाँ टेण्डर पाउनेहरुलेनै सेक्युरिटी गार्ड,नर्स,सरसफाइ कर्मि लगायत तल्लाे तहका कर्मचारीहरु पठाउने गरेकाे सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले समतापाेष्टलाई बताए ।






राज्यको डोजर आतंकले ‘हार स्वीकारेका’ सुकुमबासी !
कुपिन्डे दहको किनारमा चलचित्र महोत्सव
सुकुमवासीको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली फिल्डमा
मनोहरा सुकुमवासी बस्ती भत्काउन १९ सय सुरक्षाकर्मी परिचालन
नवीन अभिलाषीको ‘दहाड’ विमोचन
सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?