म प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको थिए : प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्।

वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई आज पार्टीमा स्वागत गर्दै उनले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठयारो परिस्थितिमा नपुग्ने दाबी गरे ।

जेनजी आन्दोलन र भदौ २४ गतेको घटनापछि कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने आवश्यकता बढेको जनाउँदै संयोजक प्रचण्डले  त्यसैको परिणामस्वरूप नेकपा गठन भएको स्पष्ट पारे।

जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातर्फ धकेल्ने तथा दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवादी प्रवृत्तिका विरुद्ध जुधेर राष्ट्र जोगाउन सक्ने क्षमता नेकपासँग मात्रै भएको उनको भनाइ थियो।

अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै संयोजक प्रचण्डले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता औँल्याए।

संयोजक प्रचण्डले प्रधानमन्त्री हुँदा आफूले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको बताए।

उनले महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पार्टीलाई मतदान गर्न अपिल गरे।

भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनको भनाइ छ।

सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबिच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्न नेकपा प्रतिबद्ध रहेको बताए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ