हामीसँग हतियारको असीमित भण्डार छ, जति वर्ष पनि युद्ध लड्न सक्छौं : ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग अत्याधुनिक हतियार र गोलाबारुदको विशाल भण्डार रहेको दाबी गर्दै अमेरिका जुनसुकै बेला ‘ठूलो युद्ध’ जित्न सक्षम रहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले अमेरिकाको सैन्य सामर्थ्यबारे यस्तो धारणा राखेका हुन् ।

ट्रम्पले अमेरिकामा ‘मध्यम र उच्च मध्यम श्रेणी’ का गोलाबारुदहरूको प्रचुर उपलब्धता रहेको उल्लेख गर्दै यी सामग्रीको मद्दतले मात्रै पनि ‘अनन्त काल’ सम्म युद्ध लड्न सकिने दाबी गरे । वासिङ्टन डीसीको समय अनुसार मध्यरातमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘हामीसँग यी हतियारहरूको वस्तुतः असीमित आपूर्ति छ । संयुक्त राज्य अमेरिका पूर्ण रूपमा तयारी अवस्थामा छ र ठूलो जित हासिल गर्न सक्षम छ !’

आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा ट्रम्पले पूर्ववर्ती राष्ट्रपति जो बाइडेनको कडा आलोचना समेत गरे । बाइडेनले अमेरिकाका धेरै ‘सुपर हाई एन्ड’ (अत्याधुनिक र अति शक्तिशाली) हतियारहरू युक्रेनलाई दिएर भण्डार रित्याएको आरोप ट्रम्पले लगाए । बाइडेनले आफ्नो कार्यकालको उत्तरार्द्धमा युक्रेनलाई शक्तिशाली लामो दूरीका ‘एटाकास्म’ मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका थिए ।

करिब ३०० किलोमिटर (१९० माइल) सम्म मार हान्न सक्ने यी मिसाइलहरू युक्रेनलाई उपलब्ध गराइनु रणनीतिक रूपमा गलत भएको ट्रम्पको संकेत छ । मध्यपूर्वमा अमेरिकी सैन्य आधार र दूतावासहरूमाथि श्रृङ्खलाबद्ध आक्रमण भइरहेका बेला ट्रम्पको यो ‘युद्धका लागि तयार’ रहने अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ