निर्वाचनकाे तयारी पूरा, मतदानका लागि देशभर उत्साहजनक वातावरण: आयाेग


काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै देशभर सुरक्षित, व्यवस्थित र उत्साहजनक वातावरण तयार भएको छ ।

सरकारले सुरक्षादेखि मौसमसम्मका सबै पक्ष अनुकूल रहेको जनाएको छ । अब मतदाताले निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न मात्रै बाँकी रहेको अधिकारीहरूको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् र उनीहरूले आवश्यक व्यवस्थापन पूरा गरेका छन् । “समग्र तयारी सम्पन्न भइसकेको छ । मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको छ,” उनले बताए ।

निर्वाचनमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

निर्वाचनस्थलको संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था मिलाइएको छ । यसले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित हुने विश्वास बढाएको छ ।

निर्वाचनलाई थप मर्यादित र सहकार्यपूर्ण बनाउन केन्द्रदेखि वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न भएका छन् । प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म भएको संवादले राजनीतिक सौहार्दता अभिवृद्धि गरेको र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको सरकारी निष्कर्ष छ ।

मौसम पनि मतदानका दिन अनुकूल रहने पूर्वानुमान छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मतदानका दिन वर्षाको सम्भावना छैन र अधिकांश स्थानमा मौसम सफा रहनेछ । केही स्थानमा बिहान हुस्सु देखिए पनि त्यसले मतदान प्रक्रियामा असर नगर्ने जनाइएको छ ।

निर्वाचन आयोगले देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको छ । दुर्गम क्षेत्रमा समेत मतदान सामग्री समयमै पुर्‍याइएको छ । डोल्पा र हुम्लाका केही दुर्गम स्थानमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरी सबै नागरिकलाई समान अवसर सुनिश्चित गरिएको छ ।

सुरक्षा संयन्त्रका अनुसार विगतका तुलनामा यसपटक सुरक्षा चुनौती न्यून रहेको छ । छिटपुट अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइएको छ, जसले शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग पुगेको छ ।

प्रदेशस्तरमा वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा विशेष समन्वय संयन्त्र गठन गरिएको छ । सातै प्रदेशमा उच्चस्तरीय कमान्ड संरचना परिचालन गरी आवश्यक स्थानमा थप जनशक्ति खटाइएको छ । यसले निर्वाचन सुरक्षालाई थप मजबुत बनाएको छ ।

समग्र तयारी, अनुकूल मौसम र राजनीतिक सहकार्यका कारण निर्वाचन सफल र शान्तिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । सरकार र सुरक्षा निकायले नागरिकलाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आह्वान गरेका छन् । लोकतन्त्रको पर्वका रूपमा लिइने निर्वाचनमा सक्रिय सहभागितामार्फत नागरिकले आफ्नो अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ