रोल्पा : रोल्पा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम परिणाम सोमबार सार्वजनिक गरिएको हो।
राजनीतिक रूपमा सचेत र परिवर्तनको आधारभूमि मानिने रोल्पामा आएको यो परिणामले जिल्लाको राजनीतिक सन्तुलनमा केही नयाँ संकेत दिएको छ। विगतमा सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण राजनीतिसम्म महत्त्वपूर्ण भूमिका खेलेको रोल्पाको चुनावी नतिजालाई देशभर चासोका साथ हेरिन्छ।
अन्तिम मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो शक्तिका रूपमा उभिएको छ। नेकपाको ‘तारा’ चिन्हमा २५ हजार ६२ मत खसेको छ। प्रत्यक्षतर्फ सोही पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन निर्वाचित भइसकेका छन्। समानुपातिकतर्फ पनि अग्रता कायम राख्नुले जिल्लामा पार्टीको संगठन बलियो रहेको संकेत गर्छ।
यस निर्वाचनको उल्लेखनीय पक्ष भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत वृद्धि हो। प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको रास्वपाले समानुपातिकतर्फ दोस्रो स्थान हासिल गरेको छ। रास्वपाले १३ हजार ६ सय ३८ मत प्राप्त गरेको छ। यसले जिल्लामा वैकल्पिक राजनीतिको खोजी भइरहेको संकेत दिएको विश्लेषण गरिएको छ।
नेपाली कांग्रेस भने समानुपातिकतर्फ तेस्रो स्थानमा सीमित भएको छ। ‘रुख’ चिन्हमा कांग्रेसले ११ हजार ४ सय ९९ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ कडा प्रतिस्पर्धा गरेको कांग्रेसले समानुपातिक मतमा अपेक्षित परिणाम ल्याउन नसकेको देखिएको छ।
त्यसैगरी नेकपा एमाले चौथो स्थानमा रहेको छ। एमालेको ‘सूर्य’ चिन्हमा १० हजार ९ मत खसेको छ। नेकपा माओवादीले ‘गुलाफ’ चिन्हमा २ हजार ६ सय १५ मत प्राप्त गरेको छ।
अन्य दलहरूको मत यसप्रकार छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ८ सय ८६, श्रम संस्कृति पार्टी ७ सय ८८, जनता लोकतान्त्रिक पार्टी नेपाल–३ मत छ । निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फ कुल ७० हजार १ सय ५४ मत खसेको थियो। जसमध्ये २ हजार ५ सय ७८ मत बदर भएका छन् भने ६७ हजार ५ सय ७६ मत सदर भएका छन्।
यसपटक समानुपातिकतर्फ मत बदर हुने दर प्रत्यक्षतर्फको तुलनामा कम रहेको देखिएको छ। प्रत्यक्षतर्फ ३ हजार १ सय ४४ मत बदर भएकाे छ । जिल्लामा कुल ५७ वटा दलका चुनाव चिन्हमा मत खसेको तथ्यांकले मतदाता छनोट निकै फराकिलो रहेको देखाएको छ। प्रत्यक्षतर्फ भने केवल १० वटा दल मात्र चुनावी प्रतिस्पर्धामा थिए।
मतगणना प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिएका छन्। उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्।






पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
२८ दिनपछि इनिसा विकको दाहसंस्कार गरिदैँ
इजरायली विभेदकारी कानूनविरुद्ध सहयात्रा अन्तर्राष्ट्रिय एलायन्सको आपत्ति
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?