इनिसा बिकका हत्यारालाई कडा कारबाही गर्न प्रमुख चार दलको माग


​विरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा एक १६ वर्षीया किशोरीको बलात्कारपछि बीभत्स हत्या गरिएको घटनाप्रति यहाँका प्रमुख राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले घटनाको प्रकृति अत्यन्तै अमानवीय र निन्दनीय रहेको भन्दै दोषीलाई कानुन बमोजिम कठघरामा उभ्याउन माग गरेका हुन्।

विज्ञप्ति अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ स्थायी घर भई हाल विरेन्द्रनगर नगरपालिका-१ कालागाउँमा बसोबास गर्ने इनिसा वि.क. को हत्या भएको हो।

उषा बालवाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उनी गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युसन पढ्न भनी घरबाट निस्किएकी थिइन्। तर, अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई विरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा फेला पारिएको थियो।

वनमा फेला पर्दा उनी बेहोस, रक्ताम्मे र नग्न अवस्थामा भेटिएकी थिइन्। घटनाको प्रकृति हेर्दा उनको बलात्कारपछि बीभत्स हत्या गरिएको देखिएको विज्ञप्तिमा उल्लेख छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अनमोल गौली सहित ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

“इनिसा वि.क. को हत्याको घटना अत्यन्तै दुःखद, अमानवीय र निन्दनीय भएकोले हामी स्तब्ध छौँ र हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाको राज्यका अनुसन्धान गर्ने निकायबाट कुनै पनि किसिमको दबाबरहित तरिकाबाट स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाहीका लागि हार्दिक अपील गर्दछौँ।”

यसरी संयुक्त रूपमा ऐक्यबद्धता जनाउनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति मदन खड्का, नेपाली कांग्रेस सुर्खेतका सचिव बालदिप कँडेल, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू जित बहादुर राना, खड्ग के.सी.,र बसन्त विश्वकर्मा तथा श्रम संस्कृति पार्टी सुर्खेतका सहसचिव राजेन्द्र राम्जाली रहेका छन्।

सो घटनाको निष्पक्ष छानबिनका लागि सुर्खेतका सबै राजनीतिक दलहरू प्रतिबद्ध रहेको समेत जानकारी दिइएको छ।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ