काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै सिंहदरबारभित्रका मन्त्रालयहरू यतिबेला सजावट र व्यवस्थापनमा जुटेका छन्।
इनडोर प्लान्टका गमलादेखि फूलबारीसम्म सजाएर मन्त्रालय परिसरलाई हरियाली र आकर्षक बनाइएको छ। नयाँ मन्त्रीको स्वागतका लागि कर्मचारीहरू सक्रिय रूपमा कार्यकक्षदेखि परिसरसम्म सिँगारिरहेका छन्।
वसन्त ऋतुका कारण सिंहदरबारका बगैँचाहरू स्वाभाविक रूपमा फूलले ढकमक्क छन्। त्यसैमाथि गरिएको सजावटले वातावरण अझै रमणीय बनेको छ। दृश्य हेर्दा मानौँ फूलहरू पनि नयाँ सरकारको स्वागतका लागि तयार उभिएका छन्।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने सांसदहरूको शपथ चैत १२ गतेका लागि तय गरिएको छ। त्यसलगत्तै सरकार गठन हुने तयारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमा जुटेको छ। यही सन्दर्भमा केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदरबारभित्र तयारी तीव्र पारिएको हो।
गत भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त बनेका मन्त्रालयहरू पनि पुनः सिँगारिँदै छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जलेका संरचनाहरू मर्मत गरी व्यवस्थित बनाइँदै छ। मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार कार्यालयलाई ‘चिरिच्याट्ट’ बनाउँदै नयाँ मन्त्रीको स्वागतका लागि तयार पारिएको छ।
युवा तथा खेलकुद मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँ नेतृत्वको प्रतीक्षामा छन्। सञ्चार मन्त्रालयका सहसचिव तथा प्रवक्ता उदयबहादुर रानामगरले मन्त्री अभावमा नियमित कामसमेत प्रभावित भएको बताउँदै नयाँ मन्त्रीको आगमनप्रति कर्मचारीहरू उत्साहित रहेको जानकारी दिए। “मन्त्री हुँदा चहलपहल हुन्छ, अहिले कार्यालय सुनसानजस्तै छ,” उनले भने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि क्षतिग्रस्त संरचनामा मर्मत तथा पेन्टिङ गरी कार्यालयलाई व्यवस्थित बनाएको छ।
मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार नयाँ मन्त्री आएपछि सेवाग्राहीको चाप बढ्ने भएकाले आवश्यक तयारी पूरा गरिएको छ।
सबैभन्दा बढी क्षति व्यहोरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। भवन जलेपछि टहराबाट सेवा दिनुपरेको अवस्थाबीच पनि नयाँ स्वास्थ्यमन्त्रीको स्वागतका लागि प्रशासन तयार रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनले बजेट तयारीका क्रममा छिटो मन्त्री नियुक्त भए काम प्रभावकारी हुने अपेक्षा व्यक्त गरे।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने विशेष तयारी आवश्यक नभएको जनाएको छ। प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार संरचना व्यवस्थित रहेकाले नीतिगत निर्णयका लागि मात्रै नयाँ मन्त्रीको पर्खाइ भइरहेको छ।
समग्रमा, सिंहदरबार यतिबेला नयाँ सरकारको आगमनको प्रतीक्षामा छ सजिएको, सिँगारिएको र चहलपहलको अपेक्षामा।






मुगुमा आयुर्वेद उपचारप्रति बढ्दो विश्वास
इनिसा विककाे न्यायका लागि प्रवासी नेपालीले बुझाए ज्ञापनपत्र
इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा
विश्वस्तरीय कृषि सञ्जालमा सुनिता न्हेमाफुकि चयन
प्रेम आलेलाइ धनगढीका बासिन्दा भन्छन् : ‘हाम्रो नेता तपाईंनै हाे’
धनगढीमा मनाइयो मगर विद्यार्थी संघको ३१ औं स्थापना दिवस
सुदूरपश्चिमका तिन सांसदलाई काठमाडौंमा सम्मान