प्रकाशचन्द्र परियार : पत्रकारिता,समाज र राजनीतिका ओदान


काठमाडौं । नेपालको समकालीन राजनीतिमा वैकल्पिक सोच, सामाजिक न्याय र समावेशिताको आवाज बोकेर अघि बढ्ने केही अनुहारमध्ये एक हुन् प्रकाशचन्द्र परियार। दुई दशकभन्दा लामो समय पत्रकारिता, मानवअधिकार र सामाजिक आन्दोलनमा बिताएका परियार अहिले संघीय संसदमा पुगेका छन्, तर उनको यात्रा केवल पद प्राप्तिको कथा होइन, संघर्ष, प्रतिबद्धता र दृष्टिकोणको संगम हो।

पत्रकारिताबाट सार्वजनिक जीवनको सुरुवात
परियारले आफ्नो सार्वजनिक जीवन मूलधारको पत्रकारिताबाट सुरु गरे। कान्तिपुर टेलिभिजनमा एक दशकभन्दा बढी समय बिताउँदै उनले सामाजिक न्याय, राजनीति, मानवअधिकार र जनजीविकाका विविध विषयमा खोजमूलक पत्रकारिता गरे।

उनको रिपोर्टिङले केवल समाचार प्रस्तुत गरेन, समाजका गहिरा समस्याहरू उजागर गर्‍यो,विशेषतः सीमान्तकृत समुदायका आवाजलाई राष्ट्रिय बहसमा ल्याउने काममा उनी अग्रपंक्तिमा देखिए।

पत्रकारिताले उनलाई समाजको वास्तविक चरित्र र प्रवृत्तिसँग नजिक बनायो। सत्ताको निगरानीसँगै उनले जनताको पीडा बुझ्ने दृष्टि विकास गरे, जसले उनलाई पछिल्लो राजनीतिक यात्रामा नीतिगत निर्णय गर्न सक्षम बनाएको छ।

मानवअधिकार र सामाजिक न्यायको मोर्चा
पत्रकारितासँगै परियार मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा पनि उत्तिकै सक्रिय रहे। Human Rights Journalists Association (HURJA) का संस्थापक अध्यक्षका रूपमा उनले पत्रकारितालाई मानवअधिकारसँग जोड्ने अभियान चलाए।
त्यस्तै नेपाल पत्रकार महासंघ को केन्द्रीय समितिमा रहँदा उनले प्रेस स्वतन्त्रता, समावेशी सञ्चार र पेशागत अधिकारका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

राजनीतिमा वैकल्पिक यात्रा
नेपालको राजनीतिमा प्रतिनिधित्वको असन्तुलनबीच दलित समुदायबाट शिक्षित, अनुभवी र राष्ट्रिय दृष्टिकोण भएका नेताका रूपमा परियारको उपस्थिति अर्थपूर्ण छ।

उनी विवेकशील साझा पार्टीका संस्थापकमध्ये एक हुन्, जहाँ उनले केन्द्रीय उपाध्यक्षसहित विभिन्न जिम्मेवारी सम्हाल्दै नीतिगत बहस, संगठन निर्माण र सामाजिक न्यायका एजेन्डालाई अघि बढाए।

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय समिति सदस्य तथा संघीय सांसदका रूपमा सक्रिय छन्। नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा उनले आफ्नो अनुभव र विचारलाई संस्थागत बनाउने प्रयास गरिरहेका छन्।

संघर्षबाट प्रेरित राजनीतिक दर्शन
परियारको राजनीतिक यात्रा केवल व्यक्तिगत महत्वाकांक्षाबाट प्रेरित छैन। उनका भाइ दयाराम परियारले जनआन्दोलन २०६२/६३ मा शहादत प्राप्त गरेका थिए।

यही पारिवारिक बलिदानले उनलाई लोकतन्त्र, समानता र न्यायप्रति अझ दृढ बनाएको छ। उनको राजनीतिक दर्शन स्पष्ट छ,सत्ता प्राप्ति होइन, न्यायपूर्ण र समतामूलक समाज निर्माण।

अन्तर्राष्ट्रिय अनुभव र शैक्षिक पृष्ठभूमि
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका परियारले सन् २००७ मा अमेरिकाबाट फेलोसिप प्राप्त गरे। त्यसपछि उनले सन् २०१० मा अष्ट्रेलियन लिडरसिप अवार्ड र २०१२ मा दिल्लीमा डक्टर अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सामाजिक न्याय र समावेशिताका क्षेत्रमा आफ्नो पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गरे।

अबको चुनौती : मतले जगाएकाे भरोसा
‘मत क्रान्ति’को नारासहित जनताको घरदैलो पुगेका परियार अहिले नयाँ जनादेशको प्रतिनिधित्व गर्दै संसदमा छन्। जनताले व्यक्त गरेको परिवर्तनको आकांक्षा-सुशासन, समावेशिता र समृद्धिलाई व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवारी अब उनको काँधमा छ।

पत्रकारिता, सामाजिक आन्दोलन, अन्तर्राष्ट्रिय अनुभव र वैकल्पिक राजनीतिक दृष्टिकोण यी सबै पक्षको संयोजन भएका प्रकाशचन्द्र परियार केवल एक सांसद मात्र होइनन्, सम्भावनायुक्त नेतृत्वका रूपमा उदाएका छन्।

नेपालको राजनीतिले खोजिरहेको इमानदार, विचारवान र समाजका सबै वर्गको पीडा बुझ्ने नेतृत्वको प्रतिनिधि पात्रका रूपमा उनको भूमिका अब झन् महत्वपूर्ण बन्दै गएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ