इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा


सुर्खेत। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राविधिक अनुसन्धान पूरा गरेको छ। अब ‘आज वा भोलि’मै अन्तिम प्रतिवेदन सुर्खेत पठाइने तयारी रहेको प्रहरीले जनाएको छ।

सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठका अनुसार काठमाडौंबाट गएको टोलीले मोबाइल डेटा, घटनाको समयरेखा लगायत प्राविधिक पक्षमा विस्तृत अनुसन्धान गरेर फर्किसकेको छ। “प्रतिवेदन तयार भइसकेको छ, आज वा भोलि नै पठाउँछौं,” उनले जानकारी दिइन्।

यो घटनामा थप प्राविधिक जाँचका लागि इन्स्पेक्टर नेतृत्वको टोली फागुन २९ गते सुर्खेत पुगेको थियो। यसअघि वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते मृत फेला परेकी इनिसाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको फरेन्सिक रिपोर्टले पुष्टि गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधीरराज शर्माका अनुसार स्थानीय तहबाट भइरहेको अनुसन्धान पनि लगभग टुंगिन लागेको छ। “सिआइबी र केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट आउनासाथ फाइल सरकारी वकिल कार्यालयमा पठाइन्छ,” उनले भने।

हाल टक्सिकोलोजिकल र बायो-सेरोलोजिकल परीक्षणको रिपोर्ट आउन बाँकी छ। टक्सिकोलोजिकल परीक्षणबाट शरीरमा विषालु पदार्थ वा औषधिको उपस्थितिबारे जानकारी पाइन्छ भने बायो-सेरोलोजिकल परीक्षणले रगत, वीर्य तथा अन्य जैविक नमूनाको पहिचान गरी यौनजन्य हिंसाको पुष्टि गर्न मद्दत गर्छ।

प्रहरीका अनुसार अत्यधिक बल प्रयोगका कारण पीडितको यौनांगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भएको देखिएको छ। घटनास्थलमा रगताम्मे अवस्था, शरीर घिसारिएको संकेत र नजिकै झोला तथा जुत्ता भेटिएको तथ्यले घटनाको क्रूरता झल्काउँछ।

घटनामा हालसम्म चार जना पक्राउ परेका छन्। तीमध्ये एक जनामाथि बलात्कारसहित कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ भने अन्य तीन जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घटना भएको दिन इनिसा ट्युसन जाने भन्दै घरबाट निस्किएकी थिइन् र आफूसँगै पढ्ने एक किशोरसँग सामुदायिक वनतर्फ गएको सिसिटिभी फुटेजमा देखिएको छ।

अत्यधिक रक्तस्रावपछि उनले साथीहरूलाई बोलाएको भए पनि तत्काल अस्पताल नलगिएको तथ्य बाहिरिएको छ। चिकित्सकहरूका अनुसार समयमै उपचार पाएको भए उनको ज्यान जोगिन सक्ने सम्भावना थियो।

सामूहिक बलात्कारको आशंका गरिए पनि अहिलेसम्म त्यसको पुष्टि भइसकेको छैन। सबै प्राविधिक रिपोर्ट आएपछि मात्र घटनाको पूर्ण चित्र स्पष्ट हुने प्रहरीको भनाइ छ।

यसबीच पीडित परिवारले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएको छ। इनिसाको शव हाल कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। घटनापछि काठमाडौं, बुटवल, सुर्खेतलगायत देशका विभिन्न ठाउँमा न्यायको माग गर्दै प्रदर्शन जारी छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ