इनिसा विक हत्या प्रकरण : प्रहरी अनुसन्धान रिपोर्ट सरकारी वकिल कार्यालयमा पेस


सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार, “प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ। सो प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेष गरिएको हो। अब सरकारी वकिल कार्यालयले नै मुद्दा अघि बढाउनेछ।” उनले अनुसन्धान प्रतिवेदनको निष्कर्षबारे विस्तृत जानकारी भने सार्वजनिक गरेका छैनन्।

डिएसपी बुढथापाका अनुसार, घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेका छन् र केही बाँकी छन्। “अब दुईवटा रिपोर्ट आउन बाँकी छ। बाँकी रिपोर्टहरू अदालतमा मुद्दा चल्दा पनि पेस गर्न सकिने भएकाले प्रतिवेदन पेष गरिएको हो।”
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पनि घटनाको छानबिन गरी आइतबार काठमाडौं फर्किएको छ।

इनिसा विक, जो गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ बस्दै आएकी थिइन्, फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। उनी सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४, सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही दिन प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय युवकलाई नियन्त्रणमा लिएको थियो। उनका बयानका आधारमा थप तीन जनालाई २४ गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो। पीडित परिवारले चारै जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको दाबी गर्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरी प्रतिवेदनले चारै जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धानमा २४ गते पक्राउ परेका तीन युवक घटना स्थलमा साथीलाई सहयोग गर्न पुगेको तर घटनामा प्रत्यक्ष संलग्न नभएको देखिएको छ। तथापि, उनीहरूले प्रहरीलाई समयमै खबर नगरेको र अन्यलाई ढिला जानकारी दिएको पाइएपछि लापरबाहीको आधारमा उनीहरूविरुद्ध पनि मुद्दा चलाइनेछ।
घटना भएको १९ दिनसम्म इनिसाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ। पीडित परिवारले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएको छ।

 

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ