विज्ञान, दर्शन र हाम्रो समयको द्वन्द्व


विज्ञानले मानव जीवनलाई अभूतपूर्व भौतिक सुविधा दिएको छ। आज हामीले प्रविधिको सहायताले समय, दूरी र श्रमलाई धेरै हदसम्म जितेका छौँ। तर, यही गतिमा दर्शन र विचारको विकास हुन नसक्दा समाजले यी उपलब्धिहरूलाई सही दिशामा डोर्‍याउन सकेको छैन। परिणामतः, स्पष्टताको सट्टा अन्यौल र भ्रम बढ्दै गएको छ।

अहिलेको हाम्रो समाजको सबैभन्दा ठूलो विडम्बना यही हो कि हामी एउटै समयमा तीन फरक युग बाँचिरहेका छौँ।
पहिलो, सामन्तवाद-जहाँ पुरानो सोच, दास मानसिकता र अन्धानुकरण अझै जीवित छ।
दोस्रो, पुँजीवाद-जहाँ बजार र नाफाको होडबाजीले मानवीय मूल्यलाई ओझेलमा पारिरहेको छ।
तेस्रो, कर्पोरेट सामन्तवाद-जहाँ ठूला कम्पनीहरूको एकाधिकारले मानिसलाई नयाँ स्वरूपको ‘बँधुवा’ बनाइरहेको छ। यो दासत्व अब जबरजस्ती होइन, स्वेच्छिक रूपमा स्वीकारिएको देखिन्छ।

यस्तो अवस्थामा, जब ज्ञान र विज्ञानका अगुवाहरू नै तर्क र प्रमाणबाट टाढा जान्छन्, समस्या अझ गम्भीर बन्छ। क्वान्टम फिजिक्स पढाउने प्रोफेसर नै यदि अन्धविश्वास वा स्तुति साहित्यमा रमाउन थाल्छन् भने, त्यसले बौद्धिक पाखण्डलाई जन्म दिन्छ। यसले समाजलाई वैज्ञानिक चेतनातिर होइन, पुनः पश्चगामी सोचतिर धकेल्छ।

जब दर्शन हराउँछ, तर्क हराउँछ, तब राजनीति पनि विचारविहीन बन्छ। विचारविहीन राजनीति केवल शक्ति प्राप्तिको खेलमा सीमित हुन्छ। आज हामी यही अवस्थाको सामना गरिरहेका छौँ, जहाँ जनमतलाई भ्रमित पारिन्छ र स्वतन्त्रताको नाममा नियन्त्रण थोपरिन्छ।

इतिहासले हामीलाई सिकाएको छ, केवल आकारले ठूलो हुनु नै टिकाउपनको ग्यारेन्टी होइन। डायनासोरहरू विशाल थिए, तर समयसँगै परिवर्तन हुन नसक्दा विलुप्त भए। त्यस्तै, यदि मानव सभ्यता प्रविधिमा मात्र अगाडि बढ्ने तर चेतना, नैतिकता र दर्शनमा स्थिर रहने हो भने, हाम्रो भविष्य पनि त्यही दिशातिर जान सक्ने खतरा देखिन्छ।

त्यसैले, आजको सबैभन्दा ठूलो आवश्यकता प्रविधिको विकाससँगै चेतना र दर्शनको पुनर्जागरण हो। विज्ञानले दिएको शक्ति तब मात्र सार्थक हुन्छ, जब त्यसलाई सही विचार, नैतिकता र मानवीय दृष्टिकोणले मार्गदर्शन गर्छ।

हामीले आफैँलाई सोध्नुपर्ने प्रश्न स्पष्ट छ
के हामी केवल सुविधा सम्पन्न हुँदै गएका छौँ, वा सचेत र जिम्मेवार पनि बन्दै गएका छौँ ?
यदि उत्तर पहिलो मात्र हो भने, हाम्रो यात्रा अधुरो छ।

नरेन्द्र जंग पिटरकाे फेसबुकबाट


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ