दाङ । घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीमार्फत आर्थिक रूपमा सक्षम बन्न सफल भएका छन् । पाँच बिघा जमिन भाडामा लिएर गोलभेँडा तथा विभिन्न तरकारी खेती गर्दै आएका ६२ वर्षीय चापागाईं अहिले यस क्षेत्रका नमुना कृषकका रूपमा परिचित छन् ।
उनको बारीमा यतिखेर लटरम्म फलेका गोलभेँडा, खुर्सानी, सिमी, बोडी र काँक्रा देख्न पाइन्छ । फरक–फरक प्लटमा व्यवस्थित रूपमा गरिएको खेतीले जोसुकैलाई आकर्षित गर्ने गरेको छ । मेहनत र लगनशीलताका कारण उनी सफल व्यावसायिक कृषक बन्न पुगेका हुन् ।
विसं २०७५ मा चार लाख रुपैयाँ लगानी गर्दै एक बिघा जमिन भाडामा लिएर खेती सुरु गरेका चापागाईंले हालसम्म करिब २० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। अहिले उनी पाँच बिघा जमिनमा उन्नत जातका गोलभेँडा र अन्य बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् ।
उनी वार्षिक प्रतिकट्ठा तीन हजार रुपैयाँका दरले जग्गा भाडा तिर्ने गर्छन् । उनको फार्ममा हाल ६ जनाले रोजगारी समेत पाएका छन्। “सबै खर्च कटाएर वर्षमा करिब १२ लाख रुपैयाँ बचत गर्न सकेको छु,” चापागाईं भन्छन् ।
उनकी श्रीमती पनि खेतीमा सक्रिय रूपमा संलग्न छन् भने दुई छोरा रोजगारीका लागि जिल्ला बाहिर रहेका छन्। आफ्नै माटोमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउँदै चापागाईं भन्छन्, “यो उमेरमा पनि जोश र जाँगर घटेको छैन, आफ्नै व्यवसायबाट खुसी छु ।”
उनका अनुसार गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ र थोकमा ७०–७५ रुपैयाँमा बिक्री हुने गरेको छ। उत्पादन भएको तरकारी बारीमै व्यापारीहरू गाडी लिएर लिन आउने गरेका छन्।
गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने, लामो समयसम्म फल दिने भएकाले आफूले यसलाई प्राथमिकता दिएको उनले बताए। चापागाईंले कृषिमा अपार सम्भावना भए पनि राज्यले पर्याप्त ध्यान दिन नसकेको गुनासो गर्दै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन्।
युवा जनशक्तिलाई विदेशिनबाट रोक्न सीपमूलक कृषि कार्यक्रम र एकीकृत कृषि व्यवसाय फार्म सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बुटवलका सुकुमबासीले गरे सरकारविरुद्ध प्रदर्शन
बेमौसमी तरकारी खेतीबाट मनग्गे आम्दानी