

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘कुनै न कुनै रुपमा विधान अनुसार समयमै हुनुपर्छ । चुनावपछि अधिवेशन गर्यो भने नेपाली कांग्रेसको अवस्था नाजुक हुन्छ, कमजोर हुन्छ भन्ने कुरा मात्रै हो,’ नेता कोइरालाले भने । साथै, उनले पार्टी अहिले सबै संस्थापन पक्षको रहेको पनि जिकिर गरे ।
‘नेपाली कांग्रेस पूरै संस्थापन पक्ष हो । त्यसरी हेर्नुस् तपाईंहरूले । तपाईंहरू जसरी सोधिरहनुभएको छ, त्यो होइन । हामी सबै एउटै हौं,’ कोइरालाले सञ्चारकर्मीको प्रश्नको जवाफमा भने । ‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरू समयमा अधिवेशन गरौं । नेपाली कांग्रेसको विधानमा केही अप्ठेरो पर्यो भने एक वर्ष दिएको छ । संविधानले अर्को ६ महिना दिएको छ । यो भनेको डेढ वर्ष हो,’ कोइरालाले भनेका छन् ।
केही दिनअघि नकांग्रेस प्रवक्ता प्रकाशशरण महतले १५औं महाधिवेशन ०८२ सालमा असम्भव भएको बताएका थिए । कांग्रेसको विधान अनुसार महाधिवेशन चार वर्षभित्र गर्नुपर्छ । १४औं महाधिवेशन ०७८ मंसिरमा भएको थियो ।
